एन्फा महिला लिगमा एपीएफ क्लबद्वारा सुदूरपश्चिम प्रदेशमाथि गोलको वर्षा

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिगमा एपीएफ क्लबद्वारा सुदूरपश्चिम प्रदेशमाथि गोलको वर्षा

काठमाडौं । एन्फा महिला लिगमा एपीएफ क्लबले, सुदूरपश्चिम प्रदेशमाथि गोलको वर्षा गरेको छ । आज भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई १९-शून्य गोलको विशाल अन्तरले पराजित गर्‍यो । अनिता केसी र रश्मी घिसिङले चार-चार गोल गरे । प्रीति राईले पनि ह्याट्रिक गरिन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको एक पक्षीय खेलमा एपीएफले आठ मिनेटदेखि गोल गर्न सुरु गरेको थियो । रश्मिले गोलको खाता खोलिन् । १४ औँ मिनेटमा अनिताले अग्रता दोब्बर पारिन् । १७ औँ मिनेटमा अनिता बस्नेतले टिमका लागि तेस्रो गोल गरिन् । ३० औँ मिनेटमा सविता राना मगर र ३३ औँ मिनेटमा सरु लिम्बुले गोल गरे । ४२ औँ मिनेटमा रश्मिले पेनाल्टीमा र ४४ औँ मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गरे । इन्जुरी समयमा मात्र तीन गोल भयो । 

अनिताले इन्जुरी समयको दोस्रो र तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । प्रीति राईले पनि गोल गरेपछि पहिलो हाफमा नै सुदूरपश्चिमले ११ गोल बेहोर्‍यो । जारी लिगको सबैभन्दा कमजोर टिम सुदूरपश्चिमले ब्रेकपछि पनि एपीएफको आक्रमणलाई रोक्न सकेन । ४७ औँ मिनेटमा पुन रश्मिले गोल गरेकी थिइन् । ६२ औँ मिनेटमा अनिताले आफ्नो चौथो गोल गरिन् । ६४ र ६७ औँ मिनेटमा गोल गरेपछि प्रीतिको पनि ह्याट्रिक पुरा भयो । 

रश्मिको चौथो गोल ७६ औँ मिनेटमा भएको हो । कुशुम खतिवडाले ८२ र ८६ तथा ९० औँ मिनेटमा रेनुका हमालको गोलसँगै एपीएफले जारी लिगकै सबैभन्दा फराकिलो जीत हात पारेको हो । यसअघि त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिमलाई नै १४-एक गोलले हराएको थियो । सुदूर आठौं खेलसम्म आइपुग्दा पनि जितविहीन छ । उसले अहिले सम्म ६५ गोल खादा तीन गोल फर्काएको छ । 

अपराजित एपीएफ सुपर लिगमा पुगिसकेको छ । शीर्ष स्थानमा रहेको एपीएफको आठ खेलबाट २१ अंक छ । तालिकाको पुच्छरमा रहेको सुदूरपश्चिम अंकविहीन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement