एएफसी अन्डर-ट्वेन्टी एसियन कप छनोटमा नेपाल कम्बोडियासँग चार-एक गोलले पराजित

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एएफसी अन्डर-ट्वेन्टी एसियन कप छनोटमा नेपाल कम्बोडियासँग चार-एक गोलले पराजित

काठमाडौं । एएफसी अन्डर-ट्वेन्टी एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल कम्बोडियासँग ४-१ गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमा २-१ ले पछि परेको नेपाली युवा टोलीले दोस्रो हाफमा थप २ गोल बेहोर्यो । नेपालले सुरुवाती ६ मिनेटमै २ गोलले पछि परेको थियो ।

खेलको तेस्रो मिनेटमै कम्बोडियाले अग्रता बनाउन सफल भयो । कर्नर किकबाट प्राप्त अवसरमा फान भ्रेकले हेडरमार्फत् गोल गरे । छैठौं मिनेटमा नेपालले दोस्रो गोल बेहोर्यो । यस पटक पनि कर्नर किक बाटै उपलब्ध बलमा फोयुक थाथीले गोल गरेका थिए । पहिलो हाफ सकिन केही सेकेन्डमात्र बाँकी रहदाँ समिर तामाङले नेपालका लागि गोल फर्काए ।

समिरले निरज कार्कीको एसिसटमा हेडर मार्फत गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे । तर ६० औं मिनेटमा कम्बोडियाले तेस्रो गोल थपेपछि नेपाल दबाबमा आयो । कम्बोडियाका खेलाडीले बक्स बाहिरबाट गरेको प्रहार नेपाली गोलरक्षक जियारत सेखले जोगाउने कोसिस गरे पनि उनको हातमा लागेर बल पोस्टमा प्रवेश गर्यो । जियारतले दोस्रो प्रयास गरे पनि बलले लाइन पार गरिसकेको थियो ।

लगत्तै निराजन धामीको प्रयास पानेस्टको माथिबाट आकासिएपछि नेपालले गोल गर्ने अवसर गुमाएको थियो । ८३ औं मिनेटमा कम्बोडियाले चौथो गोल थप्यो । इभ सोमान्नाराले सहजै गोल गर्दै कम्बोडियालाई फराकिलो अग्रता दिलाए । ८९ औं मिनेटमा अनिल बम्जनको प्रहारले पोस्टको दिशालिए पनि उनी अफसाइड हुन पुगे । त्यसपछि नेपालले थप गोल गर्न सकेन र हार सहित प्रतियोगिताको सुरुवात गर्यो । विजयी कम्बोडियाले भने समूह बी मा ३ अंक जोडेको छ ।

समूह बी मा रहेको नेपाल र कम्बोडियासहित उज्वेकिस्तान, बहराइन र आयोजक चाइनिज ताइपेइ छन् । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने छ ।

आजै भएको साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपमा पनि नेपाल पाकिस्तान सग एक शून्य गोलले पराजित भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement