काठमाडौं म्याराथन असोज १२ मा, महिला म्याराथन नहुने

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं म्याराथन असोज १२ मा, महिला म्याराथन नहुने

काठमाडौं । काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ गते काठमाडौंमा हुने भएको छ । प्रतियोगिताको यस वर्षको संस्करणमा विभिन्न विधामा गरि १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार भन्दाबढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । म्याराथनको विजेताले एक लाख पुरस्कार पाउनेछन् ।

महिलातर्फको म्याराथनका लागि दुई जनाले मात्र दर्ता गरेका कारण यो विधा नराखेको आयोजकले जानकारी दिएको छ । हाफ म्याराथनको विजेताले ५० हजार पुरस्कार पाउने छन् ।

आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनमा अनुसार म्याराथनको लागि १७० धावकले आफ्नो नाम दर्ता गराएका छन् । त्यस्तै हाफ म्याराथन ५ सय ५० ले नाम दर्ता गरेका छन् । आयोजकका अनुसार सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुला दौडमा सहभागिता जनाउने छन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ ।

आयोजकले दौडका बेला उपत्यकाको ट्राफिक व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको पनि बनाए । ‘दौडको सुचारु सञ्चालनका लागि बाटोको एक भागलाई बन्द गर्ने तथा धावक धाविकको पूर्ण सुरक्षा र दुर्घटनाको न्यूनीकरणका लागि सबै प्रयास गरिनेछ,’ आज आठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले भने, ‘मलाई पूरा विश्वास छ, ट्राफिक व्यवस्थापन निकायले दौडका बेला चाहिने सबै जिम्मेवारी गम्भीर भएर पूरा गर्नेछ र खेल सहरका रूपमा काठमाडौंको छवि कायम राख्न मदत पुग्नेछ ।’

म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुनेछ । दौडमा चार सय भन्दा बढी स्वयंसेवक तथा खेल टेक्निकल अफिसियलको सहभागिता रहनेछ । हाफ म्याराथनमा पहिलो पटक पेसर्सको पनि प्रयोग गरिनेछ । यसका लागि बंगलादेश र भारतबाट विज्ञहरू नेपाल आइपुगिसकेका छन् । म्याराथन र हाफ म्याराथनको दौड त्रिपुरेश्वरबाट बिहान ५:१० बजे सुरु हुनेछ । आयोजकले दौडका बेला प्रयोग हुने रुटमा प्रतियोगिताको लागि पाँच घण्टाका लागि सकेसम्म आफ्तो सवारी सधान त्यस रुटमा प्रयोग नगरिदिन हुन पनि काठमाडौंवासीलाई अनुरोध गरेको छ ।

काठमाडौं म्याराथनको सुरुआत सन् २००७ मा भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement