एन्फा महिला लिगमा सुदूरपश्चिममाथि संकटाको ६-० गोलको फराकिलो जित

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिगमा सुदूरपश्चिममाथि संकटाको ६-० गोलको फराकिलो जित

काठमाडौं । एन्फा महिला लिगमा संकटा क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध ६-० गोलको फराकिलो जित हात पारेको छ ।

शीर्ष पाँचमा रहँदै लिगको दोस्रो चरणमा पुग्ने सम्भावना सकिसकेको सुदूरपश्चिमले पहिलो चरणमा २ खेलमात्र खेल्दा बाँकी रहँदा कुनै अंक जोडेको छैन । संकटाको जितमा टिमीलोपे जेनिफरले चार गोल गरिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको चौथो मिनेटमा जेनिफरले गोल गर्दै संकटालाई अग्रता दिलाइन् । १२ औं मिनेटमा जेनिफरले ब्यक्तिगत दोस्रो गोल थपिन् । जेनिफरले ५२ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् ।

८३ औं मिनेटमा ममता पुनले गोल गर्दा संकटा ४-० ले अगाडि बढ्यो । ८७ औं मिनेटमा पूर्णिमा हमालले टोलीका लागि पाँचौं गोल थपिन् । इन्जुरी समयमा जेनिफरले पेनाल्टीमार्फत व्यक्तिगत चौथो गोल गर्दै संकटालाई सहज जित दिलाएकी हुन् ।

जितसँगै सात खेलमा २ जित र २ बराबरीसहित आठ अंक जोडेको संकटा छैटौं स्थानमा उक्लिएको छ । सातै खेलमा पराजित सुदूरपश्चिम विना कुनै अंक, पुछारमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement