सामूहिक करणीमा लुकाइएको घटना, कहाँ पुग्यो न्यायिक प्रक्रिया ?

आश्विन ५, २०८१ |अमृता अनमोल
सामूहिक करणीमा लुकाइएको घटना, कहाँ पुग्यो न्यायिक प्रक्रिया ?

बुटवल । रूपन्देहीको कोटहीमाई गाउँपालिकाका २ कर्मचारीसहित ३ जनाले भदौ ५ गते १९ वर्षकी एक किशोरीमाथि सामूहिक बलात्कार गरे । घटना बाहिर ल्याए किशोरीलाई मारिदिने धम्की दिएपछि धेरै दिन घटना लुकिरह्यो । भदौ १६ गते मात्रै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भयो ।

गाउँपालिकाका उद्यम विकास सहजकर्ताले गाउँपालिकाको रकमबाट बालबालिका, किशोरी र महिला समूहलगायतका लक्षित कार्यक्रम गर्थे । उनले घरमै आएर बोलाएपछि पीडित किशोरी आमासहित यसअघि २ पटक गाउँमा किशोरी अधिकारको कार्यक्रममा सहभागी भएकी थिइन् । यसपालि भने तालिममा अनिवार्य रुपमा जानुपर्ने भन्दै किशोरीलाई घरमै आएर तिनै कर्मचारीले मोटरसाइकल चढाएर लगेर होटेलमा पुर्याएपछि शिक्षा शाखाका कर्मचारी र वडाअध्यक्षका छोरासमेतले बन्धक बनाएर सामूहिक जबरजस्ती करणी गरे ।

किशोरी अहिले पनि शारीरिक र मानसिक रुपले त्रसित छिन् । अँध्यारो कोठाबाट बाहिर निस्कन मान्दिनन् । बेलाबेलामा झस्किने, रुने र चिच्याउने गर्छिन् । शिक्षा र सामाजिक चेतनामा कमजोर कोटहिमाईकी यी किशोरीको न्यायमा स्थानीय धेरै संवेदनशील देखिँदैनन् । पीडक शक्ति, सम्पत्ति र सत्ता नजिक भएकाले उनीहरुसित मुद्दा मामिला गरेर जोखिम मोल्नुभन्दा मुद्दा फिर्ता लिन दबाब दिनेहरु धेरै छन् ।

आरोपितहरु अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा छन् । प्रहरीले अहिलेसम्म प्रारम्भिक प्रतिवेदन जिल्ला न्याधिवक्ता र अदालतमा बुझाएको भने छैन ।

महिलामाथि हुने सबैभन्दा निकृष्ट हिंसा हो सामूहिक जबरजस्ती करणी । त्यसैमाथि सरकारी कर्मचारी नै संलग्न भएको यो घटना अनुसन्धान, पीडिकलाई हदैसम्मको कारबाही र पीडितको न्याय एवं सुरक्षामा राज्यका निकाय थप संवेदनशील हुन जरुरी छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement