नेपाल काभा महिला भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल काभा महिला भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल पुलिस अपराजित रहँदै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्स पुलिसलाई आज ३-१ को सेटमा हराएको हो ।

खेलको पहिलो सेटमा नेपालले दबाब बनाउँदै जित दर्ता गरेको थियो। यो सेटमा नेपाल २५-१२ ले विजयी भयो। दोस्रो सेटमा घरेलु टोलीले प्रतिस्पर्धात्मक सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन नसकेपछि नेपाल २५-२१ ले विजयी भएको थियो । तर तेस्रो सेटमा नेपालले जितको लयलाई कायम राख्न सकेन ।

सुरुबाटै पछि परेको नेपाल तेस्रो सेटमा भने २३-२५ ले पराजित भयो। यससँगै माल्दिभ्स पुलिसले खेलमा २-१ पुनरागमन गरेको थियो। यता यसअघिका सबै खेलमा विजयी नेपालले चौथो सेट २५-२१ ले जितेपछि नेपाल समूह चरणमा अपराजित रहेको हो। रुपेश विस्टको टोलीले यसअघिका तीन खेलमा सोझो सेटमा जित दर्ता गरेको थयो भने गएराति भएको खेलमा भने माल्दिभ्सको क्लब बाम्कोलाई पाँच सेटमा पराजित गरेको थियो ।

यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । काभाले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा नेपाल पुलिसले च्याम्पियन बन्ने लक्ष्य राखेको छ। फाइनल खेल शनिबार हुनेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement