प्रधानमन्त्री ओली न्युयोर्कमा, भारतीय समकक्षी मोदीसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुने

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओली न्युयोर्कमा, भारतीय समकक्षी मोदीसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क पुग्नुभएको छ । नेपालले संयुक्त राष्ट्रसंघको ७९औं महासभा र समिट अफ द फ्युचर कार्यक्रममा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुग्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई न्युयोर्कको जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्याबाहक राजदूत कुमारराज खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका काबा महावाणिज्यदूत चक्र सुवेदी र अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच संयुक्त राष्ट्र संघको ७९औं महासभामा द्विपक्षीय साइडलाइनमा भेटवार्ता हुने तय भएको छ । भारतीय प्रधानमन्त्री मोदीसँग न्युयोर्कमा साइडलाइनमा द्विपक्षीय भेटवार्ताको लागि नेपालले केही समयअघिदेखि नै प्रस्ताव गरे पनि नयाँ दिल्लीको तर्फबाट सकारात्मक जवाफ आइसकेको थिएन । तर ओली न्युयोर्कमा उत्रनु केही अघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार रहेको सन्देश दिएको हो ।

स्थानीय समयअनुसार आइतबार ओली र मोदीको साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुनेछ । चौथो पटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुनेछ । मोदीसँग भेटवार्ता हुने भएपछि नेपाली पक्षले त्यसको लागि आवश्यक गृहकार्य पनि गरेको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन हिजो न्युयोर्क प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

यसैगरी असोज १० गते उहाँले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य : सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ । उहाँले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement