एन्फा महिला लिगमा आर्मीद्वारा चन्द्रपुर १०-० गोलअन्तरले पराजित

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिगमा आर्मीद्वारा चन्द्रपुर १०-० गोलअन्तरले पराजित

काठमाडौं । एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा त्रिुभवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकाको फुटबल टिमलाई १०-० गोलले हराएको छ । अघिल्लो खेलमा नेपाल पुलिस क्लबलाई गोलरहित बराबरीमा रोकोको चन्द्रपुर आज भने फराकिलो अन्तरले पराजित भयो ।

पहिलो मिनेटमा नै गोल गरेकी चन्द्रा भण्डारीले लिगमा व्यक्तिगत पहिलो ह्याट्रिक गरिन् । आर्मीलाई जित दिलाउने क्रममा अमिशा कार्कीको नाममा पनि ह्याट्रिक रह्यो । खेलको २७ औं मिनेटमा नै अमिषले गोल गर्दा आर्मीले अग्रता दोब्बर बनाएको थियो ।

त्यसपछि हिमा चौधरीले ३२, चन्द्राले ४० र अमिषाले ४२ औं मिनेटमा गोल गरेपछि आर्मीले पहिलो हाफमा पाँच शून्यको अग्रता बनाएको हो ।

दोस्रो हाफमा पनि आर्मीले पाँच गोल नै थप्यो । ५२ औं मिनेटमा पाएको पेनाल्टीको सदूपयोग गरेर दिपा शाहीले स्कोर थप्ने काम गरिन् । ६७ औंमिनेट गोलकिपर अन्जना राना मगरलेसमेत गोल गरेकी थिइन् । अमिषाले ६८ मिनेटमा तीन गोल पूरा गर्दा ८४ औं मिनेटमा चन्द्राले ह्याट्रिक पूरा गरेकी हुन् । आर्मीको स्कोरलाई दोहोरो अंकमा पुर्‍याउन ८५ औं मिनेटमा शर्मिला थापा मगरले गोल गरेकी हुन्। आज १० गोल गरेपछि आर्मीले सात खेलमा ३८ गोल पूरा गरेको छ ।

यससँगै आर्मी अंकतालिकाको दोस्रो स्थानमा कायमै छ । लिगमा दुई खेल बाँकी हुँदा १६ अंक बनाएको आर्मी शीर्ष स्थानको एपीएफभन्दा तीन अंकले पछि छ । चन्द्रपुर ७ अंकका साथ छैटौं स्थानमा कायमै छ । लिगमा भोलि दुई खेल हुँदैछन् । 

दशरथ रंगशालामा दिउँसो साढे १२ बजे हुने खेलमा संकटा क्लबले सुदूरपश्चिमको सामना गर्नेछ । यसैगरी साढे तीन बजेको खेलमा पुलिस क्लबले वालिङ नगरपालिकासँग खेल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement