क्रिकेटका कप्तान पौडेल र करातेकी गुरुङ उत्कृष्ट वर्ष खेलाडी घोषित, पारा एथ्लिट अवार्ड पलेशालाई

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
क्रिकेटका कप्तान पौडेल र करातेकी गुरुङ उत्कृष्ट वर्ष खेलाडी घोषित, पारा एथ्लिट अवार्ड पलेशालाई

काठमाडौं । एसियाड पदक विजेता करातेकी एरिका गुरुङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल एन एस जे एफ स्पोर्टस अवार्ड २०८० को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मन्चले आज काठमाडौंमा प्रदान गरेको अवार्डमा रोहितले आफ्नै टिम मेट दीपेन्द्रसिंह ऐरी, फुटबलर अनन्त तामाङ, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई पछि पारेका हुन् ।

कार्यक्रममा रोहित भने उपस्थित थिएनन् । हाल उनी आइसीसी विश्व क्रिकेट लिग टु खेल्न क्यानडामा छन् । रोहितको अवार्ड आमा पल्जेस पौडेल र दाइ राजु पौडेलले लिएका थिए । रोहितको कप्तानीमा नेपाल १० वर्षपछि टि-ट्वेन्टी विश्वकपमा छनोट भएको थियो । यस्तै महिलामा उत्कृष्ट बनेकी एरिकाले गत वर्ष नेपालका लागि एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । उनी २५ वर्षपछि एकलतर्फ एसियाडमा रजत जित्ने पहिलो नेपाली खेलाडी हुन् । यो विधामा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटवलकी सावित्रा भन्डारी, क्रिकेटर रुविना क्षेत्री र कवड्डीकी मेनुका राजवंशी मनोनयमा थिए ।

यसैगरी पलेशा गोवर्धनले पारा एथ्लिट अवार्ड प्राप्त गरिन् । उनले ओलम्पिकमा नेपालका लागि पहिलो पदक जित्दै इतिहास रचेकी थिइन् । उनले तेक्वान्दोमा कास्य जितेकी हुन् । मतदानका आधारमा विजेता घोषणा गरिएको पिपल्स च्वाइड अवार्ड भलिवलकी कविता भट्टले जितिन् । उनले ५६ प्रतिशत मत पाएकी हुन् । दोस्रो स्थानमा कबड्डीकी मानमती विष्ट आइन् । फुटवलकी प्रिती राई, क्रिकेटका गुल्सन झा र रग्वीका श्री राम प्रतिस्पर्धा थिए । युवा वर्ष खेलाडीको अवार्ड भारोत्तोलनका हेमन्त पालले जिते ।

करातेका कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने । भलिवलका कुमार राईलाई स्पेशल अवार्ड र महिला कवड्डी टिमलाई टिम अफ दि इयर अवार्ड बाट सम्मानित गरिएको थियो । नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याएका क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष विनयराज पान्डेलाई मन्चले लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement