काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले क्रिस्टियानो रोनाल्डोको पछिल्लो अभिव्यक्तिको आलोचना गरेका छन् ।
टेन हागले बाहिरिया व्यक्तिले दिएको अभिव्यक्तिले क्लबलाई कुनै प्रकारको समस्या नपर्ने बताएका हुन् । युनाइटेडका पूर्व सहकर्मी रियो फर्डिनान्डसँग पोडकास्टमा कुरा गर्दै, रोनाल्डोले टेन हागको मानसिकतामाथि प्रश्न उठाएका थिए । केही दिनअघि हागले म्यानचेस्टर युनाइटेड, प्रीमियर लिग र च्याम्पियन्स लिग जित्न प्रतिस्पर्धा गर्न नसक्ने बताएका थिए ।
यही विषयमा रोनाल्डोले टेन हागको प्रशिक्षकको रूपमा यस्तो प्रतिक्रिया गैर-जिम्मेवार रहेको बताएका थिए । रोनाल्डोले आफ्नो पुरानो क्लबले च्याम्पियनसिप जित्न नसक्ने महसुस गरे पनि प्रशिक्षकको रूपमा टेन हागको अभिव्यक्ति र मानसिकताले गलत सन्देश पठाएको उल्लेख गरेका थिए । २०१३ मा सर एलेक्स फर्ग्युसनको अवकाशपछि क्लबमा 'कुनै प्रगति नभएको' रोनाल्डोले बताएका थिए ।
टेन हागले रोनाल्डोको अभिव्यक्तिको आलोचना गर्दै बाहिरी हल्लाहरुले क्लबलाई कुनै प्रकारको चिन्ता नपर्ने प्रतिक्रिया दिएका छन् । प्रिमियर लिगमा ब्राइटन र लिभरपुलको लगातार पराजयपछि युनाइटेडले भोलि साउथ हृयाम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । यो उनीहरुका लागी १९८६-८७ सिजनपछि सबैभन्दा खराब सुरुवात हो । २०१३ पछि युनाइटेडले प्रिमियर लिग जित्न सकेको छैन ।