एन्फा महिला लिग : संकटाले कर्णालीलाई २-० गोल अन्तरले हरायो

भाद्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिग : संकटाले कर्णालीलाई २-० गोल अन्तरले हरायो

काठमाडौं । एन्फा महिला लिगमा संकटा क्लबले पहिलो जित दर्ता गरेको छ। लिगका सुरुआती तीन खेलसम्म गोलसमेत गर्न नसकेको संकटाले चौथो चरणमा कर्णाली प्रदेशविरुद्ध २-० को जित दर्ता गरेको हो ।

सुरुवातमा केही राम्रो डिफेन्स गरेको कर्णालीले सोही लयलाई अन्त्यसम्म कायम गर्न सकेन । पहिलो हाफमा कर्णालीकी गोलकिपर तथा कप्तान लिला जोशीले लाईनबाट अघि बढेर केही उत्कृष्ट बचाउ गरेकी थिइन् ।

तर पहिलो हाफमा थप गरिएको समयको दोस्रो मिनेटमा एनिमाले डेडलक तोडिन् । एनिमाले वान भर्सस वानको अवसरमा गरेको पहिलो प्रहार लिलाले रोके पनि बललाई पूर्ण रुपमा नियन्त्रणमा लिन नसक्दा एनिमाले गोल गरेकी हुन् । ५५ औं मिनेटमा टेमिलोप जेनिफरले संकटाको अग्रता दोब्बर पारिन् ।

सेलिना अनिमाले प्रहार गरेको फ्रि-किक कर्णालीको वाल पार गर्न नसकेपनि डिफ्लेक्ट भएको बलमा जेनिफरले गोल गरेकी हुन् । ५९ औं मिनेटमा कर्णालीकी श्रीजन बटालाले दोहोरो पहेलो कार्ड सहित रातो कार्ड बेहोर्दा कर्णली १० खेलाडीमा सीमित भएको थियो ।

यो जितसँगै ४ खेलमा ४ अंक जोडेको संकटा लिगको छैंटौं स्थानमा उक्लिएको छ । समान खेलमा १ अंक जोडेको कर्णाली पुछारबाट दोस्रो स्थानमा छ । चन्द्रपुरसँग गोलरहित बराबरी खेलेको संकटा आर्मी र वालिङसँग पराजित भएको थियो । कर्णाली यसअघि कोशी प्रदेश र वालिङसँग पनि पराजित भएको थियो । भने चन्द्रपुरसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement