काठमाडौं । रसियाकी अपोजिट हिटर एलिसा दुबियकले गण्डकी थन्डर्सबाट एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) खेल्ने भएकी छन् । फ्रेन्चाइज टिम गण्डकीले आज लिगको लागि पहिलो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो ।
उनले आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा एलिसालाई अनुबन्ध गरेको हो। एलिसा रसिया र क्यानडाको घरेलु लिगमा चर्चित अनुहार हुन् । उनले क्यानडाको योर्क युनिभर्सीटीबाट लगातार दुई सिजन ओन्टारियो युनिभर्सीटी एथलेटिक्स प्रतियोगिता खेलेकी छन् ।
त्यस्तै रसियामा आयोजना हुने भिस्चा लिग पनि खेलेकी छन् । एलिसाले नेपालमा आएर भलिबल खेल्न पाउने कुरामा आफू उत्साहित भएको बताएकी छिन् । नेपालमा हुन लागेको पहिलो फ्रेन्चाइजी लिका लागि तयार भएको पनि बताइन् । पोखरा थन्डर्सका टिम मालिक सौरव केडियाले थण्डर्सले रसियाबाट एउटा प्रभावशाली खेलाडी अनुबन्ध गर्न पाउँदा धेरै खुसि लागेको बताए ।
टिमले अन्य दुई खेलाडीको पनि अनुबन्धको तयारी गरेको र छिटै सार्वजनिक गर्ने जानकारी दिएको छ। एलिसाको आगमनले गण्डकीले प्रतियोगितामा ठूलो हौसला प्रदान गर्ने अपेक्षा लिएको क्लबले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीकी मुख्य खेलाडी सरस्वती चौधरी मार्की प्लेअर रहेको गण्डकीले यसअघि ८ जना नेपाली खेलाडीहरुको नाम सार्वजनिक गरिसकेको छ ।