काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को छनोटमा चौथो हार बेहोरेको छ । आज बिहान भएको खेलमा पाराग्वेले ब्राजिललाई १-० गोलले पराजित गरेको हो ।
घरेलु टोली पाराग्वेले खेल सुरु भएको २०औं मिनेटमा नै पाँच पटकको विश्व च्याम्पियन ब्राजिल विरुद्ध अग्रता लिएको थियो । उसका लागि डिएगो गोमेजले गोल गरेका हुन् ।
पहिलो हाफमा ब्राजिलले एक पटक पनि सट अन टार्गेट राख्न सकेन । ब्रेकपछि पनि ब्राजिल खेलमा फर्कन नसक्दा गोमेजको गोल नै पाराग्वेको जितमा निर्णायक बन्यो ।
ब्राजिलले खेल अवधिभर तीन सट अन टार्गेट राख्यो । सबै भिनिसियज जुनियरले राखेका हुन् । गोल गर्न नसक्दा भिनिसिय फ्रस्टेटेड देखिएका थिए । स्पेनिस क्लब रियाल मड्रिडमा प्रभावकारी प्रदर्शन गरिरहेका भिनिसियस राष्ट्रिय टिममा भने सफल हुन सकिरहेका छैनन् ।
छनौटको अघिल्लो खेलमा ब्राजिलले इक्वाडरलाई १-० गोलले हराएको थियो । हारपछि डिफेन्डर मार्किन्होजले टिममा धेरै नयाँ खेलाडी रहेका कारण आत्मविश्वासमा कमी देखिएको प्रतिृकया दिए । टिटेको स्थान लिएका प्रशिक्षक डोरिभल जुनियरले अझैपनि आफुहरुका लागि उत्कृष्ट खेल्ने तरिकाको खोजीमा नै रहेको पनि उल्लेख गरे ।
ब्राजिल आठ खेलबाट नौ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । पाराग्वे सातौं स्थानमा छ । तालिकाको शीर्ष पाँचमा रहने टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछन् ।