काठमाडौं । एन्फा महिला लिगअन्तर्गत तेस्रो चरणको पहिलो खेलमा कोशी प्रदेशले कर्णालीलाई ४-० ले हराएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा कोशीले एकतर्फी प्रदर्शन गर्यो ।
कोशीको जितमा पूर्णिमा राईले दुई गोल तथा समीक्षा मगर र प्रतिक्षा राईले समान एक-एक गोल गरे । कोशीले खेलको ३४ औं मिनेटमा पूर्णिमाको गोलबाट अग्रता बनाएको थियो । ४३ औं मिनेटमा समीक्षा मगरको क्रसमा पूर्णिमा राईले कनेक्ट गर्न नसक्दा कोशीले दोस्रो गोलको अवसर गुमाउन पुग्यो ।
पूर्णिमाको प्रहार लिला जोशीले उत्कृष्ट बचाउ गर्दा कर्णाली अर्को गोल सामना गर्नबाट बचेको थियो । पहिलो हाफभरि कोशीले आक्रामक खेल प्रस्तुत गर्यो भने कर्णालीले काउन्टर अट्याकमा बनाएका सबै प्रयास कोशीका डिफेन्डरले निस्तेज पारेका थिए ।
कोशीले ६६ औं मिनेटमा अग्रता दोब्बर बनायो । कोशीका लागि यसपटक समीक्षाले गोल गरिन् । जारी प्रतियोगितामा उनको यो चौंथो गोल हो । त्यसैगरी पूर्णिमाले खेलको ७१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । उनले ह्याट्रिकका लागि केही थप अवसर पाए पनि सदुपयोग गर्न सकिनन् । बरु ७४ औं मिनेटमा प्रतिक्षाले गोल गरेर कोशीको अग्रता चार–शून्यमा पुर्याएकी हुन् ।
अन्तिम १६ मिनेट बाँकी रहँदा डिफेन्डर तुलसा र गोलकिपर लिलाको समन्वय हुन नसक्दा कर्णालीले चौथो गोल बेहोरेको हो । कर्णालीलाई हराएसँगै कोशीले तीन खेलमा सतप्रतिशत जितबाट नौ अंक बनाएको छ । कोशी अंकतालिकाको शीर्ष स्थानमा छ ।