पाल्पा । वैदेशिक रोजगारमा जाने युवाले स्वदेश पठाउने रेमिट्यान्सको सही ढंगले उपयोग गर्न सकियो भने परिवारमा खुसी भित्रिन्छ । त्यसैको उदाहरण हुनुहुन्छ पाल्पाको माथागढी गाउँपालिका देउगिरका चिरञ्जीवी कुँवर ।
विदेशमा कमाएको पैसासँगै परिवारले यहाँ व्यापार व्यवसाय गरेपछि चिरञ्जीवीको परिवार समृद्धिको यात्रामा लम्किइरहेको छ ।
सदरमुकाम तानसेनदेखि ३० किलोमिटर टाढा पाल्पाको माथागढी गाउँपालिका- ४ झडेवा देउगिरका ४९ वर्षीय चिरञ्जीवी कुँवर वैदेशिक रोजगारीमा कतार आउजाउ गरेको ७ वर्ष भयो । त्यसअघि उहाँले मलेसिया र साउदी अरबमा ९ वर्ष बिताइसक्नुभएको थियो । रेमिट्यान्सको कमाइले उहाँले सदरमुकाम तानसेनमा घरघडेरी जोड्नुभयो । छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिनुभएको छ । सुरूसुरूमा रेमिट्यान्सको कमाइ छोराछोरी पढाउन र घरखर्चमा सीमित भए पनि पछिल्ला वर्षमा भने बचत हुन थालेको छ ।
१७ वर्षे वैदेशिक रोजगारको यात्रामा कुँवरले घरपरिवारको पालनपोषण, सन्तानको पढाइ, सदरमुकाम तानसेनमा घरजग्गा जोड्न सफल हुनुभएको छ । श्रीमती मायाले तानसेनस्थित घरमै किराना पसल राख्नुभएको छ । पसलको आम्दानीले घर खर्च धानेको छ, रेमिट्यान्स चोखै बचत हुन्छ । श्रीमती माया श्रीमानसँगै बस्न नपाउँदाको पीडा भए पनि खुसी नै हुनुहुन्छ ।
माया श्रीमान्ले पठाउने रकम छोराछोरीका लागि भविष्यमा आइपर्ने खर्च गर्ने योजनामा हुनुहुन्छ । घरमा वाइफाइ छ । चिरञ्जीवी विदेशमा बसे पनि श्रीमती, बुबा, छोरा, छोरीसँग नियमित भिडिओ कल गरेर सरसल्लाह गर्नुहुन्छ । छरछिमेकले पनि चिरञ्जीवीको यो सफलतलाई नजिकबाट नियालेका छन् ।
गाउँघरमा गरिखान जग्गाजमिन भए पनि नगद आम्दानीको स्रोत केही नभएपछि चिरञ्जीवी जस्ता लाखौं युवा वैदेशिक रोजगारमा जान बाध्य छन् । तीनै युवाले विदेशमा काम गरेर पठाएको रेमिट्यान्सले घरपरिवार सुखसँगै समृद्धि पनि ल्याइरहेको छ ।