डडेल्धुरा । डडेल्धुरादेखि कञ्चनपुरसम्म व्यावसायिकरूपमा र्याफ्टिङ सुरू गरिएको छ । महाकाली नदीमा चलिरहेको व्यावसायिक र्याफ्टिङले पर्यटकीय गतिविधि बढाउनुका साथै स्थानीयलाई रोजगारको अवसर समेत प्रदान गरेको छ ।
महाकाली नदीमा साहसिक जलयात्रा र्याफ्टिङले चहलपहल समेत बढेको छ । सीमा नदी महाकाली डडेल्धुरादेखि कञ्चनपुरसम्मको जलयात्रा गरेर गत वर्ष नै र्याफ्टिङको सम्भावना परीक्षण गरिएको थियो । स्थानीयलाई रोगजगारी दिलाउने उद्देश्यका साथ परशुराम नगरपालिकाले नियमित र्याफ्टिङ सञ्चालन गरेको हो ।
डडेल्धुराको परशुरामदेखि कञ्चनपुरको खल्ला मसेट्टीसम्म सहासिक जलयात्रालाई व्यवस्थित बनाउन नारा, रुडुक र व्यापारीले समेत सहकार्य गरेका छन् । जलयात्राको थालनीसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने स्थानीय बताउँछन् । नियमित संचालन गर्न नगरपालिकाले स्थानीय युवाहरुलाई र्याफ्टिङ सम्बन्धी तालिम समेत दिइरहेको छ ।
महाकाली नदीमा बगेको पानीलाई दैनिक जीवनयापनसँग जोड्दै पानीलाई आम्दानीसँग जोड्ने पहिलो खुडि्कलो र्याफटिङबाट सुरू गरिएको नगरपालिकाले जनाएको छ ।
परशुराम नगरपालिकाले व्यावसायिक रूपमा र्याफ्टिङको सुरूआत गर्न यो वर्ष बजेट नै विनियोजन गरेको थियो । नेपाल सरकार, पर्यटन बोर्ड, नेपाल र्याफ्टिङ एसोशिएशन लगायतका संस्थाहरूबाट सहयोग नियमित दिने काम भइरहेको छ ।
डडेल्धुराको परशुरामधामदेखि अब नियमित रूपमा दुई वटा बोट सञ्चालन हुनेछन् । नेपाल र भारतका पर्यटकलाई महाकाली नदीमा जलयात्रा गराउन र्याफ्टिङ पयर्टन विकासमा कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।