निर्देशक चयनमा असन्तुष्टि जनाउँदै उपनिर्देशक संगीना वैद्यद्वारा राजीनामा, राखेप भन्छ– समय अनुसारको निर्णय

भाद्र २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
निर्देशक चयनमा असन्तुष्टि जनाउँदै उपनिर्देशक संगीना वैद्यद्वारा राजीनामा, राखेप भन्छ– समय अनुसारको निर्णय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशक चयन प्रकृया अपारदर्शी र परम्पराविपरीत भएको भन्दै उपनिर्देश्क संगीना वैद्यले राजीनामा दिएकी छन् । राखेपमा तालिम तथा प्रशिक्षण विभाग र प्रशासन विभागमा अहिलेसम्म महिला निर्देशकको जिम्मेवारी पाएका छैनन् ।

तत्कालीन निर्देशक प्रचण्ड शर्माको भदौ १९ गते अवकाश भएछि राखेपका उपनिर्देशकबाट निर्देशकमा बढुवा गर्ने परम्परा रहेको थियो । अहिले संगीनासँगै ओलम्पियन विष्णुबहादुर सिंह उपनिर्देशक रहेका छन् । तर राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराते प्रशिक्षक सोभितराज प्रसाईलाई जिम्मेवारी दिएका छन् । यो प्रकृया चित्तबुझ्दो नभएको भन्दै वैद्यले उपनिर्देशकबाट राजीनामा दिएकी हुन् । 

‘आत्मसम्मानको लागि पनि मैले यहाँ बस्नु ठिक ठानिनँ,’ वैद्यले कान्तिपुरसँग भनिन्, ‘यो परम्पराविपरीत भएको छ । त्यसैले मैलै राजीनामा दिएकी हुँ ।’ अहिले कायम रहेका उपनिर्देशक सिंह भने वैद्यभन्दा पनि वरिष्ठ कर्मचारी हुन् ।

ओलम्पिकमा छनोट हुने नेपालको पहिलो महिला खेलाडी रहेकी संगीना २०५२ भदौ ३० गते राखेप प्रवेश गरेकी हुन् । यसैगरी प्रसाईले सोही वर्षको असोज १ गते रापेमा कर्मचारीको जिम्मेवारी पाएका थिए। संगीनाको २०६३ पुष २१ मा र प्रसाईको २०६४ पुष २७ मा बढुवा भएको थियो । यसकारण पनि वैद्य प्रसाईभन्दा वरिष्ठ हुन् ।

यस विषयमा राखेपले सिचुएसनल डिसिजन (समय अनुसारको निर्णय) भनेर व्याख्या गरेको छ । राखेप सदस्यसचिव घिसिङले स्टेकहोल्डहरुको सुझाव र परामर्शको बीचबाट यो निर्णय लिइएको बताएका छन् ।

‘निर्देशक कसरी बनाउने भनेर नियममा नै लेखेको छैन तर उपनिर्देशकबाट निर्देशक बनाउने सामान्य बुझाई हो । कराते प्रशिक्षक सोभितराज प्रसाईले करारमा २०५० सालबाटै काम गरेका थिए । पछि स्थाई भने सँगै भएका हुन् । 

निर्देशक कसलाई बनाउने भन्ने चाहिँ नियमित रुपमा गर्ने कार्यविभाजन र जिम्मेवारीको सवालबाट यो निर्णय लिइएको हो,’ सदस्य सचिव घिसिङले कान्तिपुर टेलिभिजनसँग भने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement