काठमाडौं । पेरिस पारालिम्पिक अन्तर्गत सातौं दिनको समाप्तिमा चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ । एसियाली देश चीनले सातौं दिनको समाप्ती सम्म ६२ स्वर्ण ४६ रजत र २७ कांस्य पदकसहित कुल १ सय ३५ पदक जितेको छ । चीनले हिजो थप ९ स्वर्ण जितेको हो ।
दोस्रो स्थानमा रहेको ग्रेट ब्रिटेनले ३३ स्वर्ण २५ रजत र १६ कांस्यसहित कुल ६३ पदक जितेको छ । ग्रेट ब्रिटेनका लागी यो अहिले सम्मकै सबैभन्दा सफल पारालिम्पिक हो । तेस्रो स्थानमा रहेको अमेरिकाले २५ स्वर्णसहित कुल ६३ पदक हात पारेको छ ।
२६ रजत र १२ कांस्य पदक जितेको अमेरिकाकाले सातौं दिन थप ५ स्वर्णमा कब्जा जमायो । अघिल्लो दिन नवौं स्थानमा रहेको नेदरल्यान्ड्सले ५ स्थानमाथि उक्लिँदै शीर्ष ४ मा स्थान बनाएको छ । डच टोलीले अहिले सम्म १६ स्वर्ण ७ रजत र ५ कांस्यसहित २८ पदक जितेको छ । आयोजक फ्रान्स पाँचौं स्थानमा यथावत छ ।
उसले अहिलेसम्म ११ स्वर्ण १२ रजत र १५ कांस्यसहित कुल ३८ पदक हात पारेको छ । दुई स्थान तल झरेको ब्राजिल १५ स्वर्ण १५ रजत र २७ कांस्यसहित छैटौं स्थानमा रहेको छ । युक्रेन, इटाली, अष्ट्रेलिया र स्पेन क्रमिक रुपमा शीर्ष १० स्थानमा छन् । अहिलेसम्म सहभागी १ सय ६८ देशमध्ये ५८ देशले कम्तीमा १ स्वर्ण जितेका छन् भने ७८ देशले पदकको खाता खोलेका छन् ।