कास्की । महिलातर्फ न्यू डायमण्ड र एपीएफ तथा पुरुषतर्फ नेपाल पुलिस क्लबले खुला महिला तथा पुरुष राष्ट्रिय लामाचौर कप भलिबल प्रतियोगितामा दोस्रो जित हात पारेका छन् ।
पोखराको लामाचौर कोर्टमा भएको राउण्ड रोविन लिगको दोस्रो दिन न्यू डायमण्डले घरेलु टोली गण्डकी प्रदेशलाई तीन-शून्यको सोझो सेटले हराएको हो । पहिलो सेटमा सशक्त रुपमा प्रस्तुत हुँदा डायमण्डले गण्डकीलाई २५-१३ ले स्तब्ध बनायो । दोस्रो र तेस्रो सेटमा पनि डायमण्डले गण्डकीलाई दवाबमा राख्दा समान २५-१६ ले पाखा गलाउँदै सहज जित हात पार्यो ।
आजै भएको महिलातर्फको अर्को खेलमा विभागीय टिम एपीएफ क्लबले एभरेष्ट भलिबल क्लबलाई सेझो सेटमा हराउन सफल भयो । एपीएफले एभरेष्टलाई २५-१०, २५-११ र २५-१३ को सेटमा हरायो ।
आजै भएको पुरुषतर्फको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले ट्राभल इन्क्वाइरी गल्कोट क्लबलाई तीन-सून्यको सोझो सेटमै पाखा लगायो । पुलिसले गलकोटमाथि तीनैसेट दवाबमा राख्दा २५-१२, २५-१७ र २५-२२ ले जीत निकाल्न सफल भयो ।
जितसँगै महिलातर्फ न्यू डायमन्ड र एपीएफले दुई जितका साथ समान ६-६ अंक जोडेका छन् भने पुरुषतर्फ नेपाल पुलिसले पनि दुई खेलमा जित हात पारेर ६ अंक नै बटुलेको छ । स्थानीय टिम गण्डकी प्रदेश र विभागीय टिम एपीएफबीचको खेल वर्षाले प्रभावित बन्दा स्थगित भयो । यो खेल भोलि बिहान हुने आयोजकले जनाएको छ ।