काठमाडौं । पेरिस पारालिम्पिक अन्तर्गत पारा तेक्वान्दोमा कास्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
तेक्वान्दो टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषदको टोली बाजागाजासहित त्रिभुवन विमानस्थलमा पुगेको थियो । अहिले पलेशासहित नेपाली टीमलाई नगर परिक्रमा गरिँदैछ । नगरपरिक्रमाका लागि विमानस्थलबाट र्याली सुरु भएको छ भने साढे ९ बजे राखेप प्राङ्गण त्रिपुरेश्वरमा स्वागत गर्ने कार्यक्रम छ ।
र्याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुग्ने छ । उनलाई भोलि नै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलले भेटेर बधाई दिने कार्यक्रम छ। पलेशाले प्राप्त गर्ने पुरस्कार एक साता भित्र प्रदान गर्ने बताइएको छ ।
पलेशाले नेपाली खेलकुदको इतिहासमा नै पहिलो पारालिम्पिक्स मेडल जितेकी हुन। उनले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीमुनि तौल समूहमा पदक जितेकी हुन्।