पलेशाको सफलता : पुस्तालाई प्रेरणा, राज्यलाई सन्देश

भाद्र १५, २०८१ |सविना कार्की
पलेशाको सफलता : पुस्तालाई प्रेरणा, राज्यलाई सन्देश

काठमाडौं । शरीरमा कुनै अंग नहुनु कमजोरी होइन, यो त सबैभन्दा ठूलो शक्ति हो । यहि हो, पलेशा गोवर्धनको विश्वास । पलेशाले पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य पदक जितेर आफूलाई मात्र होइन, आफ्नो विश्वासलाई पनि प्रमाणित गरिन् । राज्यले अझै पनि चिन्न नसकेको पारा खेलकुदमार्फत् पलेशा, ओलम्पिक एरिनामा राष्ट्रिय झन्डा फहराउन सफल भइन् । 

टोकियो पारालिम्पिक्स २०२० मा दुई बाउट जितेर इतिहास बनाएकी पलेशा कांस्य पदकको नजिक पुगेर चुकेकी थिइन् । तर असफलतालाई प्रेरणामा बदलेकी उनले २०२४ को पेरिस पारालिम्पिकमा बाचा पुरा गरिन् । 

पलेशाको यो पदक समग्र नेपाली खेलकुदले प्राप्त गरेको अहिलेसम्मकै ठूलो सफलता हो । पलेशा, छनोट चरण पार गरेर पेरिस पुगेकी हुन् । सन् २००४ बाट नेपालले पारालिम्पिक्समा प्रतिस्पर्धा गर्न सुरु गरेको हो । दुई ओलम्पिक खेल्ने पलेशा पहिलो नेपाली हुन् ।

पलेशाले, पारा खेलकुदलाई आमनेपालीबीच चिनाउन महत्वपूर्ण भूमिका निभाएकी छन् । सन् २०१८ बाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन थालेकी पलेशाले उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । यसअघि उनले एसियन युथ पारा गेम्समा स्वर्ण, एसियाली पारा खेलकुदमा कास्य, पेरिस पारालिम्पिक्सको एसिया छनोटमा स्वर्ण जितिसकेकी छन् । पलेशाको यो सफलताले राज्यलाई भने झस्क्याएको छ । किनकी पारा खेलकुद लगानीले होइन, प्यासनले बााचिरहेको छ ।

पलेशाले ओलम्पिक अघि एक महिना बेलायतमा प्रशिक्षण गरेकी थिइन् । तपाइलाईं अचम्म लाग्न सक्छ, पारा खेलकुदका लागि नेपालमा भौतिक संरचना नै छैनन् । अहिलेसम्म पाराको राष्ट्रिय खेलकुद प्रतियोगितासम्म भएको छैन ।

पलेशाले नेपाली खेलकुद इतिहासमा आफ्नो नाम मात्र लेखाएकी होइनन् । एउटा पुरै पुस्तालाई प्रेरित गरेकी छन् । आशा गरौं कठिन परिस्थितिका बीच जितेको यो पदक पारा मात्र होइन नेपाली खेलकुदकै लागि टर्निङ प्वाइन्ट बन्ने छ । 


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।