महिला भलिबलमा उदाउँदो खेलाडी सुमित्रा रेग्मी

भाद्र ३, २०८१ |प्रदीप लेखी
महिला भलिबलमा उदाउँदो खेलाडी सुमित्रा रेग्मी

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी तीव्र गतिकी स्पाइकर तथा मिडिल ब्लकर सुमित्रा रेग्मी काभा महिला भलिबल नेसन्स कपबाट निकै चर्चामा आइन् ।

छोटो समयमा राष्ट्रिय टिममा स्थान बनाएकी सुमित्राको मुख्य फाइदा हो उचाइँ । काभाअघि नेपालमै भएको मैत्रिपूर्ण खेलमा रुसजस्ता विश्वकै शसक्त टिमविरुद्ध ब्लक र तीव्र स्पाइकको जादु देखाएर सबैको मन जित्न सफल उनी काभा भलिबलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत् सबैको प्रशंसाको पात्र बनिन् ।

५ फिट ११ इन्च उचाइ भएकी सुमित्राको भलिबल करिअर एउटा संयोगबाटै सुरु थियो । संखुवासभाबाट एसईई पास भएपछि काठमाडौं आएर नैकापस्थित दिदीकोमा बस्थिन् । एकदिन नजिकैको पसलमा सामान किन्न जाँदा उनको राम्रो उचाइँ देखेर स्थानीय नविन थापामगरले न्युडाइमण्ड स्पोर्टस क्लबका प्रशिक्षक कुमार राईलाई भेट्न सुझाए । त्यसपछि कुमार राईको प्रशिक्षणमा सुरु भयो सुमित्राको भलिबल यात्रा ।

सुमित्रालाई सुरुमा भलिबल खेल्न निकै गाह्रो भयो । तर विस्तारै प्रशिक्षक कुमार राईको प्रशिक्षण, हौसला र प्रेरणाले सहज हुँदैगयो । तर यति छिट्टै राष्ट्रिय खेलाडी बन्छु भन्ने सोचेकै थिइनन् उनले । जति उत्कृष्ट प्रदर्शन गर्दै गइन्, भलिबल खेलप्रतिको उत्साहले अझै उचाइँ लिइरहेको छ । त्यही उत्साहले उनले रुससागको मैत्रीपूर्ण खेल र काभा भलिबलमा राम्रो प्रदर्शन गर्न सफल भइन् । तर अझै सिक्न धेरै बाँकी रहेको उनको भनाइ छ ।

नेपाली भलिबल इतिहासमै काभा भलिबलमा भारतजस्तो बलियो टिमलाई हराउन सफल भएको नेपाली महिला भलिबल टिमको हिस्सा बन्न पाएकीमा उनी आफूलाई भाग्यमानी सम्झिन्छन् । तर फाइनलमा भारतसँग हार्न पुगेको दुःख अझैसम्म भुल्नसकेकी छैनन् ।

सुमित्रा भलिबलमै भविष्य खोजी रहेकी छिन् । तर घरको आर्थिक अवस्थाले कहिलेकाही उनलाई निराश बनाउँछ । सुमित्रालाई भलिबलमै टिकाई राख्न प्रशिक्षक कुमार राईले सकेजति सहयोग गर्दै आएका छन् । प्रशिक्षक राईले सुमित्रालाई अहिले मिडब्लकरबाट खेलाइरहे पनि अलराउन्डर बनाउने इच्छा छ । सुमित्राको पनि चाहना छ आफ्नो कमजोरी सुधार्दै कुनै दिन भारत जस्ता टिमलाई हराएर उपाधि जित्ने ।

भलिबल खेलमा उचाइँ निकै आवश्यक हुन्छ । त्यही उचाइँका कारण उनले छोटो समयमै राष्ट्रिय महिला भलिबल टिमको सदस्य बन्न पगिन् । तर, सुमित्राजस्ता प्रतिभाशाली र मिहिनेती खेलाडीलाई टिकाइराख्ने र नयाँलाई प्रवेश गर्ने वातावरण भने भलिबल संघले बनाइराख्नुपर्छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement