नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक

भाद्र ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने नेपाल प्रिमियर लिग क्रिकेटको आज लोगो र मिति सार्वजनिक भएको छ । क्यानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी लोगो र मिति सार्वजनिक गरेको हो ।

क्यानले प्रिमियर लिगको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म गर्ने घोषणा गरेको छ । तर अहिलेसम्म कति टिमले सहभागीता जनाउने छन भन्ने कुराको टुंगो लागेको छैन । अब यो नै संघको आधिकारिक टी-ट्वेन्टी फ्रेन्चाइज लिग हुनेछ ।

यसअघि क्यानले नै नेपाल टी ट्वेन्टी लिग आयोजना गरेको थियो । तर उक्त प्रतियोगिताको लागि क्यानले कमर्सियल एवम् स्ट्रयाटजिक पार्टनर बनाएको कम्पनी नै नेपालबाट भागेपछि विवादित बनेको थियो । अहिले भने क्यानले नयाँ लिगको घोषणा गरेको हो ।

लिगका लागि क्यानले चन्द्र सूर्य र ब्याट अंकित लोगो सार्वजनिक गरेको छ । यसअघि क्यान निलम्बन भएको अवस्थामा एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता आयोजना हुने गर्थे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.