दशरथ रंगशाला : खेल मैदान कि खेत मैदान ?

श्रावण ३०, २०८१ |सविना कार्की
दशरथ रंगशाला : खेल मैदान कि खेत मैदान ?

काठमाडौं । एएफसी च्यालेन्ज लिग प्ले अफमा चर्च ब्वाइज युनाइटेडमाथि भुटानको पारो एफसीले दुई-एक गोलको जित हात पार्‍यो । भुटानको क्लबले नेपाली टोलीविरुद्ध जित हात पारेको यो पहिलो पटक हो । तर यो खेल नतिजाभन्दा बढी दशरथ रंगशालाको पिचका कारण चर्चामा रह्यो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एएफसी च्यालेन्ज लिग प्रारम्भिक चरणमा चर्च ब्वाइज युनाइटेड र पारो एफसीले प्रतिस्पर्धा गरे । पिचको अवस्था हेर्दा त रोपाइँ गर्न ठिक्क पारिएको खेतमा फुटबल भइरहेको जस्तो देखिन्छ ।

तर यो न खेत हो, न त नेपालको कुनै ग्रामीण भेगमा भएको स्थानीय खेल । नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला हो । यही मैदानमा जापानका सुपर स्टार केसुके होन्डाले चर्च ब्वाइजविरुद्ध पारो एफसीको कप्तानी सम्हालेका थिए । होन्डाले नेपाल आए लगत्तै अभ्यास गर्ने मैदानको गुणस्तर नभएको भन्दै आलोचना गरेका थिए । खेल हुने मैदान नै यस्तो भएपछि त उनी र पारोका खेलाडीले के सोचे होलान ? नेपाली खेलाडीलाई पनि खेल्न सहज भएन ।

खेल मंगलबार साँझ ६ बजे सुरु भएको थियो । तर दुई घन्टा अघि काठमाडौंमा मुसलधारे वर्षा भयो । पानीमा भिज्दै फुटबल हेर्न रंगशाला पुगेका दर्शक फर्किँदा पनि भिजे । तर पानीले होइन लाजले । आफ्नै देशको अन्तर्राष्ट्रिय स्तरको भनिएको मैदानको अवस्था देखेर उनीहरुको शिर निहुरियो ।

दर्शकलाई हिलोले खेलाडी चिन्न मुस्किल परेको थियो । बल राम्रोसाग गुडिरहेको थिएन । खेलाडी चिप्लिएको देख्दा दर्शक आत्तिन्थे चोट पो लाग्यो कि भनेर । फुटबललाई माया गर्नेहरुको मन पोल्यो । तर के भीभीआईपी सिटमा बसेर प्रतियोगिता हेरिरहेका राष्ट्रिय खेलकुद परिषद् र एन्फा पदाधिकारीलाई लाज भयो होला त ? यो मैदानको संरक्षण नहुनुको प्रमुख कारण नै परिषद् र एन्फाबीचको टकराब हो । रंगशालाको स्वामित्व परिषद्सँग छ । परिषद्ले आफूले चाहेअनुसार फुटबल बाहेकका गतिविधिमा पनि रंगशाला प्रयोग गर्न दिन्छ ।

एसियाली फुटबल महासंघ एएफसीले मैदानको स्तर नपुगेको भनेपछि नेपालले गत चैतमा विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमा खेल्ने अवसर गुमाएको थियो । २०१३ सालमा बनेको रंगशालाको स्तर आधुनिक फुटबलसँग मेल खाँदैन । अर्बौंको बजेट भएको एन्फा आफैंले पनि अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउनु पर्ने हो । अब यही रंगशालामा अर्को सातादेखि साफ अन्डर ट्वेन्टी च्याम्पियनसिप हुनेछ ।

नेपालले सन् १९८२ देखि अन्तर्राष्ट्रिय फुटबल यात्रा सुरु गरेको हो । ४० वर्षमा त देशले पनि काँचुली फेर्छ । के नेपाल साँच्चिकै यति गरिब छ, जसले देशको इज्जतसँग जोडिएको एउटा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन सक्दैन ?


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।