बुद्धिचालको महाकुम्भ ओलम्पियाड हंगेरीमा आयोजना हुँदै, नेपाली खेलाडी उत्साही

श्रावण २९, २०८१ |प्रदीप लेखी
बुद्धिचालको महाकुम्भ ओलम्पियाड हंगेरीमा आयोजना हुँदै, नेपाली खेलाडी उत्साही

काठमाडौं । २०२४ सेप्टेम्बर १० देखि २३ सम्म हंगेरीको बुडापेस्टमा चेस (बुद्धिचाल)को महाकुम्भ ओलम्पियाड आयोजना हुँदै छ । जसमा नेपालबाट पाँच महिला र पाँच पुरुष गरी जम्मा १० खेलाडीले सहभागिता जनाउने छन् । 

ग्राण्ड मास्टर नभएका कारण नेपालले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि ग्राण्ड मास्टरबाट खेलाडीलाई प्रशिक्षण दिन सकेको थिएन तर यसपालि नेपाल बुद्धिचाल संघले पहिलो पटक एसियन चेस महासंघको सहयोगमा काजकिस्तानका ग्राण्डमास्टर प्रशिक्षक बोलाएर प्रशिक्षण दिइरहेको छ । यसले खेलाडी पनि निकै उत्साहित छन् ।

लामो समयदेखि परम्परागत रूपमा खेलिँदै आएको बुद्धिचाल खेल पछिल्लो समय ग्रासरुटस्तर देखि नै विकास गर्न थालिएको छ । मस्तिष्कको विकासमा समेत ठूलो मद्दत पुग्ने भएकाले अहिले यसलाई विद्यालय स्तरदेखि नै खेलाउने गरिएको छ । 

नेपालका पुरुष खेलाडीले सन् २००४ देखि ओलम्पियाडमा सहभागिता जनाउन थालेका हुन् । त्यसको १० वर्षपछि मात्र २०१४ मा महिला खेलाडी नर्वे ओलम्पियाडमा पहिलो पटक सहभागी भए । तर त्यतिबेला कुनै पनि खेलाडीले ग्राण्डमास्टबाट प्रशिक्षण लिन पाएका थिएनन् । अहिले त्यो अभाव पूर्ति गर्न एसियन बुद्धिचाल महासंघको सहयोगमा काजकिस्तान बुद्धिचाल संघसँग सम्झौता गरेर ग्राण्डमास्टर ल्याइएको हो ।

विदेशी प्रशिक्षक काजकिस्तानका ग्रण्डमास्टर मुर्ताजबाट दैनिक ६ घण्टा अभ्यास गर्न पाउँदा खेलाडी पनि निकै हौसिएका छन् । प्रशिक्षक मुर्ताज पनि पहिलो पटक नेपाल आएर प्रशिक्षण गराउन पाउँदा खुसी छन् । नेपाली खेलाडी पनि उत्कृष्ट रहेको उल्लेख गर्दै उनले सिकाउने समय निकै छोटो भए पनि राम्रो नतिजा ल्याउने प्रयासमा रहने बताए । 

पछिल्लो समय नेपालमा बुद्धिचालमा पनि धेरै उत्कृष्ट खेलाडी देखिन थालेका छन् । एक महिनाअघि महासंघले राष्ट्रिय प्रतियोगिता गराएर उत्कृष्ट पाँच महिला र पाँच पुरुष गरी १० खेलाडी छनोट गरेर ओलम्पियाडमा सहभागी गराउँदै आएको छ । 

यसपटकको ओलम्पियाडमा विश्वका एक सय ९६ देशका दुई हजार खेलाडीले सहभागिता जनाउने छन् । नेपालको स्तर एक सय १६औँ स्थानमा रहेको छ । बुद्धिचाल महासंघले खेल विकासका लागि आफ्नो हिसाबले पहल जारी राखे पनि सरकार र खेलकुदका सरोकारवाला निकायले भने अझै ध्यान दिन सकेको देखिँदैन ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement