नेपाली राष्ट्रिय क्रिकेट टोली दुई साताको अभ्यासका लागि भारतमा

श्रावण २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोली दुई साताको अभ्यासका लागि भारतमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक औपचारिक रुपमा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)सँग सहकार्य गरेको छ । क्यानले बीसीसीआईसँगको छलफलपछि पुरुष राष्ट्रिय क्रिकेट टिमलाई अभ्यासका लागि भारत पठाएको छ ।

नेपाली टोली आज विहान प्रस्थान गरिसकेको छ । क्यानडामा हुने आईसीसी विश्व क्रिकेट लिग टुको तयारीका लागि नेपालले दुई साता बैंगलोरस्थित नेशनल क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्नेछ । क्यानका प्रवक्ता छुम्बी लामाले पहिलो पटक भएको औपचारिक संवादमार्फत् बीसीसीआईले भेन्यु उपलब्ध गराएको जानकारी दिनुभयो ।

आईसीसी टी-ट्वेन्टी विश्वकपपछि अमेरिकामा रहेका प्रशिक्षक मोन्टी देसाई भारत आइसकेको पनि प्रवक्ता छुम्बाीले बताउनुभयो । कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने भने क्यानडमा नै रहनेछन् । तीनै जनाले क्यानडामा ग्लोबल टी-ट्वेन्टी लिग खेल्दैछन् । गुल्सन झा र देव खनाल भारतमा नै रहेर प्रशिक्षण गरिरहेका थिए ।

बैंगलोरमा अभ्यास खेलका लागि पनि पहल भइरहेको क्यानले जनाएको छ । भारतको प्रशिक्षणपछि श्रीलङका जाने, नेपाल आउने अथवा क्यानडामै जाने भन्ने विषयमा पनि छलफल चलिरहेको लामाको भनाइ छ । नेपालले सेप्टेम्बरमा क्यानडा र ओमानसँग लिग टुको दोस्रो चरणमा प्रतिस्पर्धा गर्न लागेको छ ।

नेपाल चार खेलमा दुई अंक जोड्दै तालिकाको छैंटौ स्थानमा छ । लिग टु को नयाँ सर्कल नेपालबाट सुरु भएको थियो । गत फेब्रुअरीमा त्रिविमा भएको खेलमा नेपालले नामिबिया र नेदरल्यान्डसँग प्रतिस्पर्धा गरेको थियो । नेपालले नेदरल्यान्डससँगको दुई खेलमध्ये एकमा जित हात पारेको थियो । नामिबिया सँग भने दुवै खेलमा पराजित भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement