एसीसी महिला एसिया कपमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी महिला एसिया कपमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एसीसी महिला एसिया कपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । समूह ए मा रहेको नेपाल दुई खेलबाट दुई अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने पाकिस्तानले ९ विकेटको जित हात पार्‍यो । तुलनात्मक रूपमा नेपालले  जारी प्रतियोगितामा सुधारिएको ब्याटिङ गरिरहेको छ ।

इन्दु बर्माको टिमले यूएईविरुद्ध १ सय १५ रनको लक्ष्य १६ दशमलव एक ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । सो खेलमा सम्झना खड्काले ७२ रन जोडेकी थिइन् । टेस्ट राष्ट्र पाकिस्तानसँग १ सय ८ रन बनाउँदा कविता जोशीले चार चौका र एक छक्काको मद्दतमा २३ बलमा अविजित ३१ रन बनाएकी थिइन् । पाकिस्तानविरुद्ध नेपालको बलिङ भने चल्न सकेन । 

यता भारत अपराजित छ ।  भारत दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै सेमिफाइनल नजिक पुगिसकेको छ । नेपाली टिमका प्रशिक्षक मनोज कटुवालले भारतविरुद्ध पहिले ब्याटिङ गरे चुनौतीपूर्ण लक्ष्य दिने र बलिङ गरे १ सय ४० सम्म रोक्ने लक्ष्य राखेको प्रतिक्रिया दिए । विश्व क्रिकेटको पावर हाउस भारतसँग खेल्न पाउनु नेपालका लागि अवसर भएको उनको भनाइ छ । 

कटुवालले अघिल्ला दुई खेलमा नेपालले गरेको प्रदर्शनमा सन्तुष्ट रहेको पनि बताए । पाकिस्तानसँग नेपालले साँझ खेलेको थियो । पहिलो पटक फ्लड लाइटमा खेलेकाले खेलाडीले केही असहज महसुस गरेको उनले बताए । नेपाल र भारत यसअघि सन् २०१६ मा भएको एसिया कपमा भिडेका थिए । जसमा भारतले नेपालमाथि ९९ रनको जित हात पारेको थियो । 

श्रीलङ्काको रागिंरा दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने खेल  नेपाली समय अनुसार साँझ सवा ७ बजे हुनेछ । त्यसअघि दिउँसो सवा दुई बजे पाकिस्तान र यूएई भिड्नेछ । भारत चार अंकका साथ तालिकाको शीर्ष स्थानमा र दुई अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.