नेपालसँगको दुई मैत्रीपूर्ण महिला भलिबलको सिरिज रसियालाई

दोस्रो खेलमा घरेलु टोली नेपाल तीन–शून्यको सोझो सेटमा पराजित
श्रावण ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपालसँगको दुई मैत्रीपूर्ण महिला भलिबलको सिरिज रसियालाई

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले रसियाविरुद्धको दुई खेलको मैत्रीपूर्ण सिरिज गुमाएको छ । काभा नेसन्स लिगअघिको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी रसियासँग सुधारिएको प्रदर्शन गर्‍यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपाल तीन-शून्यको सोझो सेटमा पराजित भएको हो । पहिलो सेट रसियाले सहजै २५-१४ ले जितेको थियो । जसका लागि उसले मात्र २० मिनेट खर्चियो । दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो । नेपालले पाँच पटक सेट पोइन्ट बचाएको थियो ।

एक समय नेपाल १८-२४ अंकले पछि थियो । त्यसपछि लगातार पाँच अंक जोडेर घरेलु टोलीले खेल २३-२४ को रोमान्चक मोडमा पुर्‍याएको थियो । तर उषा भण्डारीको सर्भिस आउट हुँदा रसियाले २५-२३ ले दोस्रो सेट आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा पनि नेपाले पुनरागमनको प्रयास गरेको थियो । तर बलियो र अग्ला कदका विपक्षीलाई २२-२५ ले नतिजा सुम्पियो ।

नेपालले पहिलो खेलमा पनि तीन–शून्यकै सोझो सेटमा हार बेहोरेको थियो । योसँगै नेपालले यही साउन १७ गतेदेखि घरेलु मैदानमा हुने काभा नेसन्स लिगको तयारी पूरा गरेको छ । नेपालका लागि सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । रसियासँगको दुई खेलले नेपाललाई कमजोरी सुधारको सुनौलो अवसर दिएको छ । काभामा नेपालसहित श्रीलंका, इरान र माल्दिभ्स छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.