वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा इंग्ल्यान्ड २ सय ४१ रनले विजयी

तीन खेलको सिरिजमा इंग्ल्यान्ड २-० ले अगाडि
श्रावण ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा इंग्ल्यान्ड २ सय ४१ रनले विजयी

काठमाडौं । इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा २ सय ४१ रनको विशाल जित हात परेको छ ।

यससँगै घरेलु टोली इंग्ल्यान्डले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ भने १ खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ । ट्रेन्ट ब्रिज, नटिङ्घममा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि इंग्ल्यान्डले पहिला ब्याटिङ गरेको थियो । इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा ४ सय १६ रन बनाएको थियो भने वेस्ट इन्डिजले ४ सय ५७ रन बनाएर ४१ रनको अग्रता लिएको थियो । 

दोस्रो इनिङ्समा जो रुटले १ सय २२ रन र हृयारी ब्रुकले १ सय ९ रनको शतकीय इनिङ खेलेपछि इंग्ल्यान्डले ४ सय २५ रनको योगफल तयार पार्दै वेस्ट इन्डिजलाई जितका लागि ३ सय ८५ रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजका जोडेन सिल्स ४ विकेट लिएका थिए । 

जवाफमा वेस्ट इन्डिज १ सय ४३ रनमा अलआउट भएको थियो । कप्तान क्रेग ब्राथवेटले सर्वाधिक ४७ रन बनाए भने जेसन होल्डरले ३७ रनको इनिङ खेले । इंग्ल्यान्डका शोएब बसिरले ५ विकेट लिए । क्रिस वोक्स र गोस एटकिन्सनले २-२ विकेट हात पारे । 

इंग्ल्यान्डले पहिलो टेस्ट एक इनिङ्स र १ सय १४ रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल २६ जुलाईमा बर्मिङ्घममा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.