नेपाल र रसियन महिला भलिबल टिमबीच आज पहिलो मैत्रीपूर्ण खेल हुँदै

श्रावण ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र रसियन महिला भलिबल टिमबीच आज पहिलो मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं । नेपाल र रसियन महिला भलिबल टिमबीच आज पहिलो मैत्रीपूर्ण खेल हुँदैछ । राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले काभा महिला नेसन्स लिगअघि एक्सपोजरका लागि मैत्रीपूर्ण खेल महत्वपूर्ण हुने बताइन् । काठमाडौंमा हिजो भएको प्रि म्याच कन्फरेन्समा कप्तान अरुणाले रसियन टिम बलियो रहेको प्रतिक्रिया दिइन् । रसियाको टिममा सिनियर खेलाडीको बाहुल्यता छ ।

रसियन भलिबल टिमका मुख्य प्रशिक्षक युरि मेरिचेभले नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुने बताए । यद्यपि अहिलेसम्म नेपालको खेल हेर्ने नपाएको उनको भनाइ थियो । तर प्रशिक्षक युरिले घरेलु टोलीसँग खेल्न कहिल्यै पनि सहज नहुने बताए । नेपालका प्रशिक्षक जगदिश भट्टले विश्व च्याम्पियन भइसकेको रसियन टिमविरुद्धको खेल नेपालका लागि सुनौलो अवसर भएको बताए ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको समन्वयमा रसियन टिम नेपाल आएको हो । पत्रकार सम्मेलनमा रसियाका कन्सुलेट युरी गुसेभले छिट्टै नेपाली टिमलाई सेन्ट पिटर्सवर्गमा आमन्त्रण गर्ने जानकारी दिए । 

नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोस्रो खेल भोलि हुनेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पाँच बजे सुरु हुनेछ । काभा आगामी साउन १७ गतेदेखि नेपालमै हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.