एसीसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

लगातार दोस्रो जितको खोजिमा नेपाल
श्रावण ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं । नेपालले एसीसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा यूएइलाई ६ विकेटले पराजित गरेको थियो ।

जुन महिला एसिया कपमा नै नेपालले हात पारेको पहिलो जित थियो । नेपाल टिमकी कप्तान इन्दु बर्माले, यूएईसँगको जितले खेलाडीको मनोबल उच्च बनाएको प्रतिक्रिया दिइन् । एसोसिएट राष्ट्रमा बलियो बन्दै गएको यूएईलाई हराउनु नेपाली महिला क्रिकेटका लागि महत्वपूर्ण भएको बताइन् । कान्तिपुर समाचारसँग कुरा गर्दै इन्दुले टेस्ट राष्ट्र पाकिस्तानसँग जितकै लागि मैदान उत्रने उल्लेख गरिन् ।

पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा बलियो प्रदर्शन गर्नु पर्नेछ । यूएईसँगको खेलमा ओपनर सम्झना खड्काले ७२ रनको आक्रामक इनिङ्स खेलेकी थिइन् । इन्दुले तीन विकेट लिँदा रुविना र सिताले किफायती बलिङ गरेका थिए । पाकिस्तान पछिल्ला पाँच टी- ट्वेन्टी आईमा जितविहीन छ । समूहको आफ्नो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।

एसिया कपमा नेपाल र पाकिस्तान सन् २०१६ मा आमने सामने भएका थिए । जसमा पाकिस्तानले नेपालमाथि ९ विकेटको जित हात पारेको थियो । श्रीलङ्‍काको रांगिरी दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

यसै समूहको अर्को खेलमा दिउँसो सवा २ बजे भारत र यूएईबीच खेल हुनेछ । यूएई र पाकिस्तान पराजित भए भारत र नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.