काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित
श्रावण ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । माल्दिभ्समा जारी काभा अन्डर ट्वान्टी महिला भलिबल च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । गएराति सम्पन्न खेलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो । सुरुवाती २ सेटमा कडा चुनौती प्रस्तुत गरे पनि नेपालले नतिजा भने आफ्नो पक्षमा पार्न सकेन । किर्गिस्तान भने लगातार दोस्रो खेल जित्न सफल भयो ।

नेपालले पहिलो सेट २५-२७ ले गुमाएको थियो । दोस्रो सेटमा २३-२५ ले पछि पर्दा तेस्रो सेटमा १७-२५ को नतिजा निकालेपछि नेपाल सोझो सेटमा पराजित भएको हो । यस खेलमा पनि नेपालले श्रीलंकाविरुद्ध गरेका गल्लतीहरु दोहोर्‍यायो । दुबै खेलमा नेपालको रिसिभ र डिफेन्स कमजार देखिएको थियो । आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग ४ सेटमा पराजित भएको थियो ।

हिजै सम्पन्न अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३-० ले हराएको थियो । घरेलु टोली माल्दिभ्स पहिलो खेलमा किर्गिजस्तानसँग पराजित भएको थियो । प्रतियोगितामा सहभागी चार टिम मध्ये किर्गिजस्तान र श्रीलंकाको समान ६-६ अंक छ । नेपाल र माल्दिभ्सले अंकको खाता खोल्न सकेका छैनन् ।

लिग चरणको अन्तिम दिन आज नेपाल र माल्दिभ्स तथा श्रीलंका र किर्गिजस्तानबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच प्रतिस्पर्धा हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.