युगो हम्बर्टलाई हराउँदै कार्लोस अल्काराज विम्बल्डन ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइनलमा

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
युगो हम्बर्टलाई हराउँदै कार्लोस अल्काराज विम्बल्डन ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइनलमा

काठमाडौं । कार्लोस अल्काराज विम्बल्डन ग्रान्डस्लाम टेनिसको क्‍वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

२१ वर्षीय स्पेनिस खेलाडी अल्काराजले १६ औं वरीयताका युगो हम्बर्टलाई ४ सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन् । विम्बल्डनको उपाधि रक्षा गर्ने अभियानमा रहेका अल्काराजले सुरुवाती २ सेट क्रमशः ६-३ र ६-४ ले जिते पनि तेस्रो सेटमा  १-६ को हार बेहोरे तर प्रतिस्पर्धात्मक चौथो सेटमा ७-५ ले विजयी भएपछि उनी अन्तिम आठमा प्रवेश गरे ।

यससँगै गत महिना सम्पन्न फ्रेन्च ओपनको उपाधि जितेका अल्काराजले लगातार ११ खेल जितेका छन् । अल्काराजले अब सेमिफाइनल प्रवेशका लागि क्‍विन्स क्लब च्याम्पियन १२ औं वरीयता प्राप्त अमेरिकी खेलाडी टमी पलको सामना गर्ने छन् । पलले स्पेनका रोबर्टो बाउ-टिस्टा अगुटलाई ६-२, ७-६ र ६-२ ले पराजित गरेका थिए । 

यस्तै विश्व नम्बर एक यान्‍निक सिनरले अमेरिकाका १४औं वरीयताका बेन शेल्टनलाई ६-२, ६-४ र ७-६  पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् । ग्रिगोर दिमित्रोभले खुट्टाको चोटका कारण बाँकी प्रतियोगिता गुमाउने भएपछि २२ वर्षीय सिनरले अर्को खेलमा रुसका पाँचौं वरीयताका ड्यानिल मेदवेदेवसँग खेल्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement