महिला फ्रेन्चाइज भलिबल प्रतियोगिताका लागि इन्फिनिटी ड्रिम्स प्रालीसँग ७ वर्षको सम्झौता

असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
महिला फ्रेन्चाइज भलिबल प्रतियोगिताका लागि इन्फिनिटी ड्रिम्स प्रालीसँग ७ वर्षको सम्झौता

काठमाडौं । खेलाडीलाई भलिबलमै टिकाइ राख्न नेपाल भलिबल संघले महिला फ्रेन्चाइज भलिबल प्रतियोगिताका लागि इन्फिनिटी ड्रिम्स प्रालीसँग सात वर्षको सम्झौता गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र इन्फिनिटी ड्रिम्स प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि इन्फिनिटी ड्रिम्सले भलिबल संघलाई वार्षिक २५ लाख दिनेछ । साथै यो रकममा हरेक वर्ष १० प्रतिशतले वृद्धि हुने समेत जनाइएको छ । इन्फिनिटी ड्रिम्सले भलिबलका 'होम एन्ड अवे' को अवधारणाअनुरुप देशैभर लिग प्रतियोगिता गर्ने अधिकार प्राप्त गरको छ । फ्रेन्चाइज प्रतियोगितामा ६ टिम हुने छन्। हरेक टिमले ३ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् ।

उक्त प्रतियोगिताको टिमका लागि खेलाडी छनोट अक्सन प्रक्रियाबाट हुने छ । अक्सनमा खेलाडीको प्रदर्शनका आधारमा ए र बी गरी दुई श्रेणीमा बिभाजन गरिने छ । श्रेणी ए का खेलाडीको मूल्य एक लाख ५० हजार र श्रेणी बी का खेलाडीको एक लाख तोकिने संघका अध्यक्ष चन्दले बताउनुभयो । प्रतियोगिताको मिति भने निर्धारण गरिएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement