एसीसी महिला एसिया कपका लागि नेपाली टोलीको अन्तिम तयारी

लगातार पानी पर्दा इन्डोरमा मात्रै प्रशिक्षण
कप्तान भन्छिन्- नेपालका लागि ऐतिहासिक अवसर
असार २१, २०८१ |सुवास रोकाया
एसीसी महिला एसिया कपका लागि नेपाली टोलीको अन्तिम तयारी

काठमाडौं । एसीसी महिला एसिया कप सुरु हुन करिब २ हप्ता बाँकी रहँदा नेपाली टोली प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त छ । भारत र पाकिस्तानसहित यूएई सम्मिलित समूह एमा रहेको नेपालका लागि यो प्रतियोगिता अवसर र चुनौती दुवै हो । एसिया कपका लागि भाग्यमानी साबित भएको नेपालको तयारीमा वर्षाले अवरोध गरिरहेको छ ।

गत वर्ष फागुनमा सम्पन्न एसीसी प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएपछि नेपालले ऐतिहासिक एसिया कप खेल्ने अवसर गुमाएको थियो । तर एसीसीले एसिया कप खेल्ने टोलीको सङ्ख्या ६ बाट ८ पुर्‍याउने निर्णय गरेपछि प्रिमियर कपको सेमिफाइनलसम्म पुगेका नेपाल र थाइल्यान्डले अवसर पाए । खासमा नेपाली टोली प्रतियोगिताको दाबेदार थियो । तर टिमका अधिकांश खेलाडीको फिनेटस राम्रो नहुँदा नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । तर यस पटक भने टिमले प्रशिक्षण र फिटनेसमा विशेष ध्यान दिएको छ । 

केही साता यता भइरहेको वर्षाले नेपाली टिमको प्रशिक्षणमा भने केही अवरोध गरिरहेको छ । त्यही कारण टोली इन्डोर प्रशिक्षण मात्र गर्न बाध्य छ । पानी रोकिएका बेला फिल्डिङ अभ्यास गरे पनि पिचमै ब्याटिङ नगरेको डेढ साता भइसकेको छ । साथै एसिया कपको तयारीका लागि सिरिज खेल्न नपाउँदा टिमले अन्तर्राष्ट्रिय एस्पोजरको अवसर भने पाउन सकेको छैन ।

पहिलो पटक ऐतिहासिक एसिया कप खेल्न लागेको नेपालका लागि यो सिरिज अवसर र चुनौती दुवै हो । हालै राष्ट्रिय टिममा रहेका खेलाडीले मलेसियाको महिला लिग खेलेका थिए । अब यो प्रतियोगितामा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न सके अन्य देशका महिला फ्रेन्चाइज टोलीले नेपाली खेलाडीलाई अवसर दिन सक्छन् ।

नेपालले साउन ४ मा यूएईसँग खेल्दै प्रतियोगिता सुरुवात गर्ने छ । नेपालले समूह चरणमा साउन ६ गते पाकिस्तान र साउन ८ मा भारतसँग प्रतिस्पर्धा गर्ने छ । समूहमा शीर्ष दुईमा अटाउन सके नेपाल सेमिफाइनलमा प्रवेश गर्ने छ । नेपाल आइतबार श्रीलंका जाने तयारीमा छ । लगभग २ महिनाअघिबाट तयारी थालेको नेपाली टोलीमा अनुभवी र युवा खेलाडीको समिश्रण छ । प्रशिक्षण सत्रमा तुलनात्मकता पहिलेभन्दा निकै सुदृढ देखिएका नेपाली खेलाडीले क्षमताअनुसार प्रदर्शन गर्न सके पक्कै पनि राम्रो नतिजा हासिल गर्न सक्छन् ।

हेर्नुहोस् सुवास रोकायाका थप स्टोरी ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।