काठमाडौं । बीपी राजमार्ग अन्तर्गत नेपालथोकदेखि बर्खेखोला (सिन्धुली खण्ड) पुनःनिर्माणका लागि बोलपत्र आह्वान भएको छ । गत असोज १० देखि १३ गतेसम्मको बाढीपहिरोले क्षतविक्षत बनाएको यो राजमार्ग पुनःनिर्माण गर्न सडक डिभिजन खाल्टेले आज ठेक्का आह्वान गरेको हो ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले करिब ७२ करोडको ठेक्का आह्वान भएको छ । यो ठेक्का ३० दिनमा खोलिनेछ । बीपी राजमार्ग पुनःनिर्माणका लागि बाँकी तीन वटा खण्ड सडक डिभिजन भक्तपुरले ठेक्का लगाउने छ । अर्थ मन्त्रालयले गत फागनु ४ गते बीपी राजमार्ग पुनःनिर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो ।
मनसुन सकिने बेलाको बाढीपहिरोले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको भकुन्डेबेंसीदेखि नेपालथोकसम्म २८ किलोमिटर सडकमा क्षति पुर्याएको थियो । बाढीले ८.७ किलोमिटर सडक पूरै कटान गरेको थियो ।