रोमानियालाई ३-० गोलले हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वार्टरफाइनलमा

अस्ट्रियालाई पराजित गरेको टर्कीएले शीर्ष आठमा नेदरल्यान्ड्ससँग खेल्ने
असार १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
रोमानियालाई ३-० गोलले हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वार्टरफाइनलमा

काठमाडौं । नेदरल्यान्ड्स युरो कप फुटबलको क्‍वार्टरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रि-क्‍वार्टरफाइनल खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स १६ वर्षपछि प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो । नेदरल्यान्ड्सको जितमा वैकल्पिक खेलाडी डोन्यल मालेनलले २ गोल गरे ।

२० औं मिनेटमा लिभरपुलका फरवार्ड कोडी गाक्पोले गोल गर्दै डच टोलीलाई सुरुवाती अग्रता दिलाए । जाभी सिमोन्सको पासमा उनले उत्कृष्ट फिनिस गरेका हुन् । खेलको ५४ औं मिनेटमा स्टिभन बर्गविजनलाई प्रतिस्थापित गर्दै मैदान प्रवेश गरेका मालेनले ८३ औं मिनेटमा गोल गरेपछि नेदरल्यान्ड्स २-० ले अघि बढ्यो । इन्ज्युरी समयको चौथो मिनेटमा मालेनले व्यक्तिगत दोस्रो गोल गरेपछि नेदरल्यान्ड्स ३-० को सहज जितसहित क्‍वार्टरफाइनलमा प्रवेश गर्‍यो ।

युरो कपकै अर्को खेलमा टर्किएले अस्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्‍वार्टरफाइनलमा नेदरल्यान्ड्सको भेट पक्का गर्यो । टर्कीएको जितमा डिफेन्डर मरिह डेमिरालले दुवै गोल गरे भने अस्ट्रियाका माइकल ग्रेगोरिस्चलले १ गोल फर्काए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.