आयोजक टोली अमेरिका कोपा अमेरिका फुटबलको समूह चरणबाटै बाहिरियो

उरुग्वे समूह सीको विजेताका रुपमा अन्तिम ८ मा प्रवेश
असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
आयोजक टोली अमेरिका कोपा अमेरिका फुटबलको समूह चरणबाटै बाहिरियो

काठमाडौं । आयोजक अमेरिका कोपा अमेरिका फुटबलको समूह चरणबाटै बाहिरिएको छ । अमेरिकाको एरोहेड स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेसँग १-० ले पराजित भएसँगै अमेरिका समूह चरणबाट बाहिरिएको हो । यसअघि पनामा र बोलिभियालाई पराजित गरेको उरुग्वे समूह सीको विजेताका रुपमा अन्तिम ८ मा प्रवेश गर्‍यो ।

उरुग्वेको जितमा मथिहास ओलिभेराले ६६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यससँगै कोपा अमेरिकाको १५ पटकको च्याम्पियन उरुग्वे ३ खेलमा सतप्रतिशत अंकसहित अघिल्लो चरणमा प्रवेश गर्यो । अब उरुग्वेले सेमिफाइनल प्रवेशका लागि कोस्टारिका र पाराग्वेबीचको विजेतासँग खेल्ने छ ।

आजै बिहान सम्पन्न अर्को खेलमा पनामाले बोलिभियालाई पराजित गर्दै इतिहासमै पहिलो पटक कोपा अमेरिकाको अन्तिम ८ मा स्थान बनायो । पनामाले बोलिभियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पनामा ३ खेलमा ६ अंकसहित समूहको उपविजेताका रुपमा अघि बढेको हो । पनामाले अन्तिम ८ मा कोलम्बिया र ब्राजिलबीचको विजेता टोलीको समाना गर्ने छ । समूह चरणका अन्तिम खेलमा भोलि बिहान कोलम्बिया र ब्राजिल तथा कोस्टारिका र पाराग्वे भिड्नेछन् । यी दुई खेलपछि कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.