सरकारले आगामी वर्षका लागि धानको समर्थन मूल्य तोक्यो

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारले आगामी वर्षका लागि धानको समर्थन मूल्य तोक्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद्‍को बैठक धानको समर्थन मूल्य तोकेको हो । मोटा धानको प्रतिक्विन्टल तीन हजार ४१० रुपैयाँ ५१ पैसा र मध्यम धानको प्रति क्विन्टल तीन हजार ५८० रुपैयाँ ६२ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन गर्न उच्च अदालतका पूर्वन्याधशीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

त्यसैगरी चीन सरकारको अनुदान सहायतामा हिल्सा-सिमकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा एकीकृत जाँच चौकी र अरनिको राजमार्गको चौथो चरणको मर्मत र निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्राप्त भएका पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

नेकपा एमालेले सरकार छाडेपछि आज पहिलोपटक मन्त्रिपरिषद्‌को बैठक बसेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.