राष्ट्रपतीय निर्वाचनबाट पछि हट्दैन : बाइडन

असार २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतीय निर्वाचनबाट पछि हट्दैन : बाइडन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनबाट आफू पछि नहट्ने दृढता व्यक्त गर्नुभएको छ ।

दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अभियानमा लाग्नुभएका राष्ट्रपति बाइडनमाथि डेमोक्र्याटिक पार्टी भित्रैबाट निर्वाचन नलड्न दबाब बढिरहँदा उहाँले आफू पछि नहट्ने दृढता व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति बाइडनले बुधबार उपराष्ट्रपति कमला ह्यारिससँग ह्वाइट हाउसमा गोप्य लन्च मिटिङ गरेको र त्यसपछि दुवैजनाले चुनावी अभियानका सदस्यहरुसँग कुराकानी गरेको बीबीसीले जनाएको छ । कुराकानीका क्रममा बाइडनले डेमोक्र्याटिक पार्टीका तर्फबाट आफू नै उम्मेदवार रहेको, कसैले आफूलाई अस्वीकार नगरेको र आफू चुनावबाट पछि नहट्ने बताउनुभएको थियो । सो क्रममा उपराष्ट्रपति ह्यारिसले बाइडनप्रति आफ्नो समर्थन दोहोर्याउनुभएको समाचारमा जनाइएको छ ।

कमला ह्यारिसले बाइडनलाई प्रतिस्थापन गर्नुहुन्छ कि भन्ने अनुमान भइरहेका बेला बाइडनले ह्यारिससँग वार्ता गरी आफ्नो पक्ष बलियो बनाउनुभएको हो ।

अमेरिकामा बाइडनलाई राष्ट्रपतिको चुनावी दौडबाट पछि हट्न दबाब बढ्दै

बाइडनले बुधबार साँझ भर्चुअल र भौतिक रुपमा गरी २४ जना डेमोक्र्याटिक गभर्नर र वासिंटन डीसीका मेयरसँग भेट गरी उनीहरुलाई आफू प्रतिस्पर्धाबाट नबाहिरिने कुरा आश्वस्त पार्नुभएको रोयटर्सले उल्लेख गरेको छ । बाइडनसँगको भेटपछि ह्वाइट हाउसबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै न्युयोर्क मिनेसोटा र मेरिल्यान्डका गभर्नरहरुले बाइडनप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएका थिए ।

गत साता आफ्ना प्रतिस्पर्धी तथा पूर्वराष्ट्रपति डनल्ड ट्रम्पसँग भएको राष्ट्रपतीय बहसमा बाइडनको प्रस्तुति कमजोर भएपछि उहाँकै दल भित्रबाट बाइडनमाथि चुनाव नलड्न दबाब बढ्दै गएको हो । डेमोक्र्याटिक पार्टीभित्र एकातिर ८१ वर्षीय बाइडनको शारीरिक र मानसिक स्वास्थ्यलाई लिएर चिन्ता देखिन्छ भने अर्कोतिर यसपटक उहाँले ट्रम्पलाई पराजित गर्न सक्नेमा पनि आशंका देखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.