पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारालम्पिक्समा प्रतिस्पर्धा गर्ने

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारालम्पिक्समा प्रतिस्पर्धा गर्ने

काठमाडौं । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व पारा पौडीबाट बिपरटाइट स्लोट्स प्राप्त भएसँगै भीमको पारालम्पिक सहभागिता निश्चित भएको हो ।

भीमले पुरुष ५० मिटर फ्रि-स्टायलमा प्रतिस्पर्धा गर्नेछन् । यो स्पर्धामा उनकै नाममा ३५.०१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । ४१ वर्षीय भीमले आफ्नो करियरमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

उनले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद, इन्डोनेसियामा भएको तेस्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले पछिल्लोपटक खेलको प्रतियोगिता विश्व पारा पौडी सिरिज हो जुन पारालम्पिक छनोटको आधारमा समेत रहेको थियो ।

सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म भएको यही प्रतियोगितामा भीमले ५० मिटर फ्रि-स्टायलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए । भीम एम्पुटी फुटबलका पनि खेलाडी हुन् । भीमले पारालम्पिकका लागि कालोपुलस्थित वेस्ट भेन्युमा तयारी प्रशिक्षण गरिरहेका छन् । उनलाई विजेनमान श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

भीमसहित पेरिस पारालम्पिकमा हालसम्म तीन खेलाडीको सहभागिता निश्चित भइसकेको छ । यसअघि तेक्वान्दोका पलेशा गोवर्धन छनोट हुँदा र भरतसिंह महताले वाइल्ड कार्ड पाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.