अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा

असार १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा

काठमाडौं । अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा रहँदै कोपा अमेरिका-२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अपराजित हुँदै अन्तिम ८ मा प्रवेश गरेको अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गर्‍यो ।

यस हारेले पेरु समूह चरणबाटै बाहिरिएको छ । क्यानडा र चिलीलाई पराजित गरेको साविक विजेता अर्जेन्टिना यस अघिनै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको थियो । कप्तान लियोनल मेसीसहित प्रमुख ९ खेलाडीहरूलाई आराम दिएको अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दोस्रो हाफमा दुई गोल गरे ।

हार्ड रक स्टेडियम फ्लोरिडामा मार्टिनेजले ४७ औं र ८६ औं मिनेटमा गोल गरे । ७२औं मिनेटमा पेनाल्टी पाएपछि अर्जेन्टिनालाई अर्को गोल गर्ने अवसर थियो । तर, लिआन्ड्रो पारेडेसको प्रयास सफल हुन सकेन । जितसँगै अर्जेन्टिना ३ खेलमा ९ अंकसहित अघिल्लो चरणमा प्रवेश गर्‍यो ।

यसै समूहको अर्को खेलमा चिलीविरुद्ध गोलरहित बराबरी खेलेको क्यानडा समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाले ३ खेलमा ४ अंक बटुल्यो । चिलीले २ र पेरुले १ अंक मात्र जोड्न सकेपछि प्रतियोगिताबाट बाहिरिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.