कोपा अमेरिकामा पाराग्वेमाथि ब्राजिलको सानदार जित

असार १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोपा अमेरिकामा पाराग्वेमाथि ब्राजिलको सानदार जित

काठमाडौं । कोपा अमेरिका २०२४ मा ब्राजिलले पाराग्वेमाथि सानदार जित दर्ता गरेको छ । आज बिहान सम्पन्न खेलमा ब्राजिलले पाराग्वेमाथि ४-१ गोल अन्तरको जित हासिल गरेको हो । ब्राजिलको जितमा भिनिसियस जुनियरको दुई गोल गरे । लुकास पाकेटा पेनाल्टीबाट गोल गर्न चुके । पहिलो अवसरमा पाकेटा पेनाल्टीमा चुके पनि ३५ औं मिनेटमा भिनिसियसले पाकेटाकै पासमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए ।

४३ औं मिनेटमा साभियोले गोल गरेपछि ब्राजिलले अग्रता दोब्बर पार्‍यो । पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले तेस्रो गोल गरे । ४८ औं मिनेटमा ओमार अल्डेर्टेले पाराग्वेका लागि एक गोल फर्काए । तर, ६५ औं मिनेटमा पाकेटाले दोस्रो प्रयासमा पेनाल्टीमा गोल गरेपछि ब्राजित ४-१ ले अघि रह्यो ।

खेलको ८१ औं मिनेटमा आन्द्रेस कुबासले रातो कार्ड पाएपछि पाराग्वे १० खेलाडीमा सीमित बन्यो । त्यसपछि पनि दुबै टिमबाट थप गोल हुन नसकेपछि ब्राजिल विजयी भयो । प्रतियोगितामा ब्राजिलको यो पहिलो जित हो । पहिलो खेलमा ब्राजिल कोस्टारीकासँग गोलरहित बराबरीमा रोकिएको थियो । समूह डीमा ब्राजिल २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । क्वार्टरफाइनलमा पुगिसकेको कोलम्बिया दुई खेलपछि ६ अंकसहित शीर्ष स्थानमा छ । कोस्टारिका एक अंकसहित तेस्रो र पाराग्वे दुई हारपछि शून्य अंकसहित पुछारमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.