प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटमा के-के भयो छलफल ?

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटमा के-के भयो छलफल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नै निवास बालकोटमा भेटबार्ता गरेपछि सत्ता समीकरणलाई लिएर एमाले र माओवादी केन्द्रबीच आशंका बढेर गएको छ । कांग्रेस सभापति देउवासँगको एमाले अध्यक्ष ओलीको भेटवार्तालाई लिएर संशकित बनेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज दोस्रोपटक बालुवाटारमा एमाले अध्यक्ष ओलीसँग झन्डै चार घण्टा बढी छलफल गर्नुभएको छ । 

दुई नेता बीचको भेटबार्तामा सरकारको कामकारबाही प्रभावकारी बनाउने र सरकारलाई समर्थन गरेका जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा छलफल केन्द्रित भएको दाहालको सचिवालयले जनाएको छ ।

एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवा र दाहालसँगको भेटवार्ताको विषयलाई लिएर पार्टीका केही पदाधिकारीहरुसँग आन्तरिक छलफल गर्ने तय भएको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिनुभएको छ । पोखरेलले दाहाल नेतृत्वको सरकारको काम कारबाहीलाई लिएर पार्टी सन्तुष्ट नभए पनि तत्काल नै माओवादी केन्द्रसहितको गठबन्धन फेरबदल गरेर गइहाल्ने अवस्था नरहेको तर कांग्रेससँग छलफल समग्रमा भइरहेको बताउनुभयो ।

एमाले नेताहरुले देउवा र ओलीको भेटवार्तालाई लिएर अहिले नै माओवादी केन्द्रसहितको सत्तासमीकरणमा फेरबदल नहुने बताइरहे पनि ओली र दाहालको भेटवार्तालाई गठबन्धन फेरबदलको रुपमा अर्थाउन भने बल पुगेको छ । एमालेसँगको छलफल सत्तासमीकरणदेखि देशमा देखिएका समग्र समस्यालाई सम्बोधन गर्नेसम्मको विषयमा सकारात्मक छलफल भइरहेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ । 

संविधान संशोधन गर्नेदेखि जनताको आवश्यकतालाई छिटो कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा दुई ठूला दल कांग्रेस र एमाले एक ठाँउमा उभिनुपर्छ भन्ने विषयमा छलफल केन्द्रित भएको तर निष्कर्षमा पुगि नसकेको विश्वकर्माको भनाइ छ ।

एमाले माओवादी केन्द्रसहितको सत्ता समीकरण दलभित्र पछिल्लो समय एमाले अध्यक्ष ओलीले बजेटलगायत सरकारको कामलाई लिएर सार्वजनिकरुपमै असन्तुष्टि जनाइसक्नुभएको छ । यसैगरी प्रधानमन्त्री दाहालले समेत आफू संख्यामा कमजोर भए पनि सरकार गठनका लागि मुख्य दल भएको भन्दै कांग्रेस र एमालेलाई आफ्नो उपस्थितिविना केही नहुने चुनौती घुमाउरो पारामा सार्वजनिकरुपमै दिँदै आउनुभएको छ । जसका कारण ओली र दाहाल पछिल्लो समय एउटै कार्यक्रममा दुवैजना नेता सहभागी हुने भनेर तय भइसक्दा पनि ओली अनुपस्थित हुँदै आउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.