युरोकप २०२४ : समूह उपविजेता बन्दै फ्रान्स नकआउट चरणमा

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोकप २०२४ : समूह उपविजेता बन्दै फ्रान्स नकआउट चरणमा

काठमाडौं । यूएफा युरो कप २०२४ अन्तर्गत समूह डीको अन्तिम खेलमा फ्रान्स र पोल्यान्डले बराबरी खेल्दै अंक बाढेका छन् । दुवै टिमले १-१ गोलको बराबरीमा खेल टुंग्याए ।

बराबरीपछि फ्रान्स समूहको उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ भने पोल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमले पेनाल्टीमा गोल गरेका थिए ।

५६औं मिनेटमा उसमान डेम्बेलेमाथि पोल्यान्डका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीमा कप्तान केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । चोटपछि फर्किएका एम्बाप्पेका लागि युरोकपमा यो पहिलो गोल थियो ।

७९औं मिनेटमा पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले पनि पेनाल्टी मार्फत नै गोल गरेका थिए । पेनाल्टीको पहिलो प्रहार फ्रेन्च गोलरक्षक माइक माइगननले बचाए पनि पेनाल्टी प्रहार हुनुअघि उनको खुट्टा गोललाइनभन्दा अघि आएका कारण लेवान्डोस्कीले पुनः पेनाल्टी प्रहार गर्न अवसर पाएका थिए । सो अवसरमा लेवान्डोस्कीले गल्ती गरेनन् ।

यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सलाई ३-२ ले पराजित गर्दै अष्ट्रिया समूह विजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्‍यो । समूह डीबाट अष्ट्रिया ६ र फ्रान्स ५ अंकसहित पहिलो र दोस्रो टिम बने भने ४ अंक जोडेको नेदरल्यान्ड्सका लागि तेस्रो स्थानमा रहने शीर्ष ४ टोलीभित्र पर्दै नकआउट चरणमा पुग्ने सम्भाना बाँकी छ । १ अंक जोडेको पोल्यान्डको चुनौती समूह चरणमै समाप्त भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement