एन्फा महिला लिगको पहिलो चरणमा एपीएफ क्लब अपराजित

बागमती क्लब ७-० गोलले पराजित
आश्विन ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिगको पहिलो चरणमा एपीएफ क्लब अपराजित

काठमाडौं । रश्मी कुमारि घिसिङले मात्र पाँच गोल गरेपछि विभागीय टिम एपीएफ क्लबले बागमती युवा क्लबलाई ७-० को फराकिलो अन्तरले हराएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भइरहेको लिगमा एपीएफले लिग चरणमा अपराजित यात्रा गरेको छ । बागमती भने शीर्ष पाँचमा पर्न असफल भयो ।

एपीएफले पहिलो गोलका लागि ३५ मिनेट पर्खिनु परेको थियो । निरन्तरको वर्षाले प्रभावित भएको खेलमा अनिता केसीले गोलकिपर छक्याएर दिएको पासमा रश्मीले डेडलक तोडेकी हुन् । पहिलो गोल भएका पाँच मिनेटमा नै एपीएफले दोस्रो गोल गर्यो । अनिता बस्नेतको लामो क्रसमा रश्मीले हेडर गरिन्।

उनको हेडर बल सुनिता भुलनबाट डिफ्लेक्ट भएर पोस्टमा छिरेको थियो । पहिलो हाफमा दुई गोल गरेको एपीएफले दोस्रो हाफको सुरुआतबाट नै गोल गर्यो । ४७ औं मिनेटमा कप्तान अनिता बस्नेतले टिमका लागि तेस्रो गोल गरिन् । 

दिव्या यस्माली मगरले ह्यान्ड बल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले एपीएफलाई पेनाल्टीको अवसर दिएका थिए । पेनाल्टीको अवसरमा रश्मीले ह्याटि्रक पूरा गरेकी थिइन् ।

रश्मीले चौथो गोल ८२ औं मिनेटमा र ८८ औं मिनेटमा पाँचौं गोल गरिन् । एपीएफको लागि फाइनल गोल भने सविता राना मगरले इन्ज्युरी समयमा गरिन् । प्रिती राईले दिएको पासमा सविताले फिनिसिङ टच दिएकी थिइन् । आज पाँच गोल गरेकी रश्मी जारी महिला लिगमा शीर्ष गोलकर्ता हुन् ।

उनले नौ खेलमा १८ गोल गरेकी छन् । बाँकी खेलाडीले दोहोरो अंकमा गोल गर्न सकेनन् । एपीएफले भने नौ खेलबाट ८ जित र एक बराबरीसँगै २५ अंक जोड्यो । पराजित बागमती १० अंकका साथ छैटौं स्थानमा रह्यो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement