यूएफा युरो कप २०२४ मा फ्रान्सको विजयी सुरुवात

असार ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
यूएफा युरो कप २०२४ मा फ्रान्सको विजयी सुरुवात

काठमाडौं । यूएफा युरो कप २०२४ मा फ्रान्सले विजयी सुरुवात गरेको छ । फ्रान्सले अस्ट्रियालाई १-० ले पराजित गरेको हो ।

कप्तान केलियन एमबाप्पे घाइते भएको खेलमा उपाधि दाबेदारमध्येको एक फ्रान्सले  उपहार गोलमार्फत विजयी सुरुवात गरेको हो । अस्ट्रियाका म्याक्सिमिलेन वेबरले ३८ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । 

९० औँ मिनेटमा नाकमा चोट लागेपछि एमबाप्पेलाई अस्पताल लगिएको थियो । 

उनको नाकको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । उनी अस्ट्रियाका डिफेन्डर केभिन डान्सोसँग ठोक्किन पुगेका थिए । यस जितसँगै फ्रान्स समूह डीको दोस्रो स्थानमा छ । उसले १ खेलमा ३ अंक जोडेको छ । अस्ट्रिया समूहको पुछारमा छ । 

समूह ई मा रोमानियाले युक्रेनलाई ३-० ले पराजित गर्दा यसै समूहको अर्को खेलमा उपाधि दाबेदार मानिएको बेल्जियम  स्लोभाकियासँग १-० ले स्तब्ध भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.