टी-ट्वेन्टी विश्वकप : नेपाल-श्रीलंकाबीचको खेल वर्षाले रद्द, दुवै टिमले पाए १-१ अंक

जेष्ठ ३०, २०८१ |सविना कार्की
टी-ट्वेन्टी विश्वकप : नेपाल-श्रीलंकाबीचको खेल वर्षाले रद्द, दुवै टिमले पाए १-१ अंक

फ्लोरिडा । आईसीसी टी-ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल नहुँदा दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

लगातार वर्षा भएपछि टस नै नभई खेल रद्द भएको हो । निरन्तर वर्षाका कारण फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदान भिजेको थियो । योसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् । सेमिफाइनल र फाइनल खेलका लागि मात्र रिजर्भ डे राखिएका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको हो । यसै विश्वकपमा समूह 'बी'मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल पनि वर्षाकै कारण रद्द भएको थियो ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । योसँगै श्रीलंकाको सुपर ८ को यात्रा कठिन बनेको छ र उसको अघिल्लो चरण पुग्ने सम्भावना निकै कम भएको छ । 

अब श्रीलंकाले समूहको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेट रनरेटमा अन्य टोलीभन्दा माथि रहनुपर्ने छ भने अन्य खेलको नतिजा पनि उसको पक्षमा आउनु पर्नेछ । नेपालले अब शनिबार वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग र सोमबार बंगलादेशसँग खेल्नेछ । नेपाललाई पनि अघिल्लो चरणमा पुग्न दुवै खेल जित्नैपर्नेछ ।


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।