पुरुष भलिबल फ्रेन्चाइज लिग हुँदै, केडिया ग्रुपसँग सहकार्य

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
पुरुष भलिबल फ्रेन्चाइज लिग हुँदै, केडिया ग्रुपसँग सहकार्य

काठमाडौं । नेपाल भलिबल संघले केडिया ग्रुपको सहकार्यमा पहिलोपटक पुरुष भलिबल फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ ।

नेपाल भलिबल संघले काठमाडौंमा आज एक कार्यक्रम गर्दै फ्रेन्चाइजी लिगका लागि केडिया ग्रुपसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमार केडियाले हस्ताक्षर गरे ।

नेपाल भलिबल संघ र केडिया ग्रुपबीच सात वर्षको सम्झौता भएको छ । लिग सम्पन्न गर्न लाग्ने सम्पूर्ण खर्च केडिया ग्रुपले बेहोर्नेछ । त्यसबाहेक नेपाल भलिबल संघलाई केडिया ग्रुपले ३५ लाख रुपैयाँ वार्षिक रुपमा सहयोग गर्ने आज अयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष चन्दले बताउनुभयो ।

लिगको पहिलो संस्करण आगामी माघ, फागुनमा सुरु गर्ने लक्ष्य संघको छ । प्रतियोगिताको पहिलो संस्करण काठमाडौंमा हुनेछ भने अन्य संस्करणहरु होम एन्ड अवेका आधारमा अन्य सहरहरुमा खेलाइने संघको योजना छ ।

कार्यक्रममा केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमार केडियाले आउने दिनमा नेपालको राष्ट्रिय खेल भलिबलका कभर्डहल निर्माणका लागि सबै मिलेर सरकारलाई पहल गर्नुपर्ने बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.