बजेटमा युवा तथा खेलकुद मन्त्रालयका प्राथमिकता के ?

जेष्ठ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बजेटमा युवा तथा खेलकुद मन्त्रालयका प्राथमिकता के ?

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा क्रिकेटका खेल पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । मूलपानी र त्रिवि क्रिकेट मैदानलाई ७० करोडको बजेट माग गर्दै युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव पेस गरेको छ ।

खेलकुद मन्त्रालयले एकीकृत बजेट व्यवस्थापन प्रणालीमा पूर्वाधातरार्फ ३२ कार्यक्रको लागि एक अर्ब २१ करोड ९४ लाख रुपैयाँबराबरको पूर्वाधार योजना समाविष्ट गरी पठाएको हो ।

पोखरा क्रिकेट रंगशाला निर्माण, खेलकुद ल्याबका लागि तीन करोड र उच्च पर्वतीय अभ्यास केन्द्रका लागि सात करोड रुपैयाँ बजेट माग गरिएको छ ।

विराटनगरमा क्रिकेट रंगशाला बनाउन १० करोड माग गरिएको छ । कीर्तिपुरको क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड आवश्यक छ । धनगढी र कोहलपुरको क्रिकेट रंगशाला पनि प्राथमिकतामा रहेका छन् ।

आगामी आर्थिक वर्षमा हुने विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि चार करोड रुपैयाँ माग गरिएको छ । मार्सल आर्ट्स, भलिबल, एथ्लेटिक्को म्याराथन र ई-स्पोर्ट्स खेलकुदका लागि मन्त्रालयले बजेट माग गरेको हो । सन् २०२६ मा हुने एसियाली खेलकुदको अभ्यासका लागि साढे दुई करोड रुपैयाँ माग गरिएको छ ।

दशौं राष्ट्रिय खेलकुद र पारा खेलकुद, राष्ट्रिय कराते, महिला लिग फुटबल, ट्यालेन्ट हन्टलगायत कार्यक्रम र प्रतियोगिताका लागि २५ करोड रुपैयाँ माग गरिएको छ ।

राखेपमा दर्ता भई कार्यक्रम गरिरहेका अधिकांश खेल संघलाई १० लाख रुपैयाँभन्दा धेरै बजेटको माग गरिएको छ । दुई महिनाअघि राष्ट्रिय योजना आयोगले मन्त्रालयसँग तीन अर्ब १९ करोड ९९ लाख रुपैयाँको सिलिङ तोकेर सोहीअनुसारको बजेट बनाउन अनुरोध गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.